मोरङ निर्वाचन क्षेत्र ५ : जहिल्यै पानीको दुःख

Aadil Times 1+ समाचार ( )
यो निकै वर्षदेखिको समस्या हो । विगतमा चुनावका बेला तत्कालै पानीको व्यवस्था गर्ने भनेका नेताहरुले बाचा पूरा नगरेको...
१८ कार्तिक २०७९

विराटनगर । निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलका नेता कार्यकर्ता मतदातामाझ विभिन्न बाचा र प्रतिवद्धता लिएर पुगिरहेका छन् ।

विगतमा पनि उनीहरुले अनेक खालका प्रतिवद्धता जनाउँदै आएका छन् । मतदाताहरुले भने आफ्ना समस्याको समाधान गर्न नेताहरुले बाचा गरेअनुसार ध्यान नदिएको बताएका छन् ।

दीगो विकास, कानुनी राज्यको अनुभूति गराउने, आधारभूत आवश्यकताहरु पूरा गर्ने प्रतिवद्धता यसपटक पनि दोहोर्याउँदै उम्मेदवारहरु मतदातासमक्ष पुगिरहेका छन् ।

मोरङको क्षेत्र नम्बर ५ मा पनि कतिपय पहिलेका अनि केही नयाँ उम्मेदवारहरु मतदाता आकर्षित गर्न लागिरहेका छन् । उक्त क्षेत्रको जहदा गाउँपालिका वडा ३ को सुकुम्बासी मुसहर वस्तीमा पिउने पानी अभाव छ । यो निकै वर्षदेखिको समस्या हो । विगतमा चुनावका बेला तत्कालै पानीको व्यवस्था गर्ने भनेका नेताहरुले बाचा पूरा नगरेको स्थानीयको भनाइ छ ।

उक्त बस्तीमा ९ परिवारका ५० जना सदस्य छन् । सबैका लागि पानीको एउटै स्रोत छ– एउटा चापाकल । धेरैजनाले एकमात्र चापाकलको पानी प्रयोग गर्नुपर्दा समस्या हुने गरेको उनीहरुले बताएका छन् ।

बिहानै नउठे पानी भर्न धेरै समय पर्खनुपर्ने अवस्था छ । अन्यत्र काममा जानेहरु पानी भर्नकै लागि समय बिताउनुपर्दा समस्या पर्ने गरेको बताउँछन् ।

स्थानीय कवितादेवी ऋषिदेवका अनुसार बस्तीका महिलाहरुलाई नुहाउन धैरै कठिनाइ हुने गरेको छ । सार्वजनिक चापाकल सडकमै रहेकोले नुहाउँदा समस्या पर्ने गरेको हो ।

साना बालबालिकालाई हात–खुट्टा धुन पनि धेरै समय पर्खनु पर्ने अवस्था छ । घरमा खाना पकाउन ढिलो हुँदा उनीहरु विद्यालय पनि ढिलो जाने गरेका छन् ।

‘स्कुल जैला लेट हैछे, त सर सब मारैछै , कल आवैछिये त कल पर भीड रहैछे सै खातिर स्कुल जैला लेट हैछे’ ९स्कुल जान जहिल्यै ढिलो हुन्छ, सरले पिट्नुहुन्छ, कलमा भीड हुन्छ, त्यसैले स्कुल जान ढिला हुन्छ।

यसैगरी स्थानीय हुलय ऋषिदेव भन्छन्, ‘एउटा सरकारी चापाकलमा ९ जना परिवारका सदस्यले वर्षौंदेखि पानी पिउन बाध्य छौं । पानी भर्ने होडमा धेरैपल्ट झगडा समेत हुने गरेको छ ।’

धैरेजनाले प्रयोग गर्दा कल चाँडै बिग्रने गरेको छ । लुगा धुने, जुठो भाडा मस्काउने, खानेपानी भर्नेको चापाकलमा भीड लाग्ने गर्छ ।

उक्त क्षेत्रबाट विगतमा निर्वाचनमा प्रतिस्पर्धा गरेका माओवादी केन्द्रका शिवकुमार मण्डल र जनता समाजवादी पार्टी नेपालका जयराम यादव संसदमा पुगिसकेका छन् । दुवैजनाले मन्त्रालयको जिम्मेवारी पनि पाएका थिए । यादव हाल प्रदेश १ का स्वास्थ्य मन्त्रीसमेत छन् ।

प्रतिक्रिया