पूर्वमेयर भीम पराजुली प्रदेशसभा सदस्य निर्वाचित

Aadil Times 1+ समाचार ( )
स्थानीय तहको निर्वाचनमा एमाले नेता विनोद ढकालालई हराउँदै...
८ मंगशिर २०७९

मोरङको क्षेत्र ४ (ख) बाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले ११ हजार ४७९ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी प्रदेश १ का पूर्व सामाजिक विकासमन्त्री तथा नेकपा (एमाले) का नेता जीवन घिमिरेले ९ हजार ६ सय ९१ मत प्राप्त गरेका छन् ।

उक्त क्षेत्रका अर्का प्रतिस्पर्धी राप्रपाका माधवप्रसाद आचार्यले ६ हजार ९३५ मत पाएका छन् ।

पराजुली २०७४ को स्थानीय तहको निर्वाचनमा एमाले नेता विनोद ढकालालई हराउँदै विराटनगर महानगरपालिकाको मेयरमा निर्वाचत भएका थिए ।

त्यसबेला उनले एमाले नेता ढकाललाई ५ हजार ५१० बढी मत प्राप्त गरे मेयर भएका थिए । त्यसबेला पराजुलीले २३ हजार ३१ मत प्राप्त गरेका थिए भने ढकालले १७ हजार ३२१ मत पाएका थिए ।

पराजुलीले अहिलेसम्म पराजयको स्वाद चाखेका छैनन् । विद्यार्थी संगठनबाट राजनैतिक आरम्भ गरेका पराजुली नेविसंघको अध्यक्ष भए ।

त्यो यात्रालाई उनले क्याम्पसमा पुग्दा थप सशक्त बनाए । महेन्द्र मोरङ क्याम्पसको इकाई समिति सचिवदेखि सोही क्याम्पसको सभापति उम्मेद्वार उठेर प्यानललै विजयी गराएका थिए ।

२०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा प्रहरी हिरासतमा परेका उनी जति हठी छन् उत्ति नै सामाजिक र मिलनसार पनि छन् ।

पराजुली नयाँ पुस्ता मात्रै होइन अघिल्लो पुस्ताले पनि रुचाइएका नेता हुन् । नेपाली काँग्रेसको नगर सभापतिमा दोस्रोपटक निर्वाचित उनी यो पदमा अत्याधिक मतले विजयी भएका थिए ।

उनी दर्जनभन्दा बढी सामाजिक संघसंस्थामा पनि संलग्न छन् । २०६२/ ६३ को जनआन्दोलनमा अग्र मोर्चामा उभिएका पराजुली करिब साढे तीन महिना जेल परेका थिए । राजधानी केन्द्रित आन्दोलनमा उनी पटकपटक धरपकडमा परेका थिए ।

प्रतिक्रिया