मिटर ब्याजी समस्या समाधान गर्ने प्रधानमन्त्री दाहालको प्रतिबद्धता

Aadil Times 1+ समाचार ( )
१७ चैत्र २०७९

प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याजी पीडितहरुसँग भेटवार्ता गरेका छन् । मिटरब्याजीले उठीबास लगाएपछि न्याय माग्दै काठमाडौं आएका पीडितहरुलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री दाहालले भेट गरेका हुन् ।

प्रधानमन्त्रीले बोलाएपछि शनिबार बिहान मिटरब्याजी पीडितहरु आफ्ना माग पूरा गर्न नारा लगाउँदै बालुवाटार प्रवेश गरेका थिए ।

मिटरब्याजी पीडितहरुसँगको भेटमा प्रधानमन्त्री दाहालले मिटरब्याजीहरुलाई कारबाही गर्ने र पीडितलाई न्याय दिन ऐनकै अभाव रहेको उल्लेख गरे ।

उनले अहिले आफू प्रधानमन्त्री भएलगत्तै त्यसलाई सम्बोधन गर्न ऐनको मस्यौदा बनाउन लगाएको र अन्तिम चरणमा रहेको जानकारी दिए ।

‘ताकी मिटरब्याजीहरुलाई ऐनद्वारा नै कारबाही गर्न सकियोस् । उनीहरुमाथि मुद्दा चलाउन सकियोस् र पीडितहरुलाई न्याय दिलाउन सकियोस् भनेर त्यो ऐन बनाउने प्रक्रिया अगाडि बढाइएको छ,’ उनले भने, ‘मैले तपाईंहरुलाई आश्वासनको रुपमा भनेको छैन ।

स्थायी रुपमा मिटरब्याजीहरुलाई कानुनी दायरामा ल्याउन कानुन बनाउने कुरासँग यो सम्बन्धित छ । ऐन निर्माणको क्रममा के गर्दा राम्रो हुन्छ भनेर पीडितहरुको पनि सुझाव लिइने प्रधानमन्त्री दाहालको भनाइ छ ।

‘अघिल्लो पटक पनि यो मिटरब्याजीसँग सम्बन्धित समस्या समाधान गर्नु पर्छ भनेर पहल लिएको मान्छे नै यसपटक प्रधानमन्त्री भएको बेला अहिले समाधान भएन भने मलाई डर लाग्छ, यो समस्या पछि समाधान हुन सक्दै,’ उनले भने, ‘अहिले तपाईंहरुको समस्या समाधान हुने प्रचुर सम्भावना छ ।’


प्रतिक्रिया