वडाध्यक्षको घरबाट एक थान पेस्तोल र ३ राउन्ड गोली बरामद

Aadil Times 1+ समाचार ( )
३ वैशाख २०८०

जिल्ला प्रहरी कार्यालय रोल्पाले अवैध हतियार बरामद गरेको छ । गंगादेव गाउँपालिका – ४ का ३३ वर्षीय वडाध्यक्षसमेत रहेका कृष्ण वलीको घरबाट अवैध हतियार बरामद गरिएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए ।

कोठामा लुकाइ राखेको अवस्थामा इटालीमा बनेको ७.६५ अटो पेस्तोल एक थान र तीन राउन्ड गोली फेला परेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

अवैध हातहतियार लुकाइ छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय घर्तीगाउँ र प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा लुकाइ राखेको अवस्थामा पेस्तोल फेला पारेको हो ।

सोही गाउँपालिका अध्यक्ष हरिबहादुर पुनमाथि आक्रमण गरेको अरोपमा वडा अध्यक्ष वली भने गत बिहीबार पक्राउ परिसकेका छन् । गाउँपालिकाको बजेट बाँडफाँडको विषयमा विवाद परेपछि वडा अध्यक्ष वलीले गाउँपालिकाको गाडीमासमेत तोडफोड गरेका थिए ।

पक्राउ परेका वलीलाई रोल्पा अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा १४ दिनको म्याद थप गरी अुनसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार