फालेका बेडलाई मर्मत गरेर पुनः प्रयोगमा ल्याउँदै कोसी अस्पताल

Aadil Times 1+ समाचार ( )
१५ फाल्गुन २०७९

प्रयोग गर्न नमिल्ने भन्दै कवाडीमा थुपारिएका सामग्री न्यून खर्चमा मर्मत गरेर विराटनगरस्थित कोसी अस्पालले पुनः प्रयोगमा ल्याएको छ ।

बेड अभावले झ्यालका छिंडी र भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको कोसी अस्पतालले लिलाम गर्न थुपारिएको पुराना बेड, स्टेचरलगायतका सामग्री मर्मत गरेर प्रयोगमा ल्याएको हो ।

बजेट अभावले नयाँ बेड खरिद गर्न सक्ने अवस्था नहुँदा पुराना बेड तथा सामग्रीहरु मर्मत गरी अधिकतम उपभोग गर्ने विकल्पमा जाँदा अस्पतालले ५० शैय्या तयार पारेको हो । मर्मतका क्रममा बिरामी बोक्न प्रयोग गरिने २२ थान स्टेचर पनि तयार गरेको हो ।अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. रविनराज सिंहले जानकारी पुराना सामग्री लिलाम बिक्री गर्नुअघि मर्मत सम्भार गरेर प्रयोगमा ल्याउन सक्ने जति मर्मत गर्दा खर्च कटौती हुने बताए ।

मर्मत गरि पुन: प्रयोगमा ल्याएको बेडहरु अहिले आवश्यक पर्ने स्त्री तथा प्रसूित रोग विभाग, आकस्मिक कक्ष र सर्जिकल वार्डमा राखिने उनले बताए ।

प्रयोग गर्न नमिल्ने भन्दै कवाडीमा फालिएका सामग्री न्यून खर्चमा मर्मत गरेर पुनः प्रयोगमा ल्याइएको अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले बताए । ‘कौडीको भाउमा बेच्न ठिक्क पारिएका सामाग्रीलाई सामान्य खर्चमा मर्मत गरेर पुनः प्रयोगमा ल्याएका छौं,’ उनले भने,‘ यसले अस्पतालको खर्च घटाएको छ ।’ कवाडीका रुपमा फालिएका टेबुल र दराज पनि मर्मत गरेर प्रयोगमा ल्याउने उनले बताए ।अस्पतालले बेड पुनः मर्मतका लागि एलबिटी इन्टरप्राइजेज प्राली इटहरीलाई ठेक्का दिएको थियो । सो कम्पनीले प्रतिगोेटा ३ हजार ३ सयका दरमा कवाडीको रुपमा फालिएका बेड मर्मत गरेर गरेको हो ।

बिरामीको चाप बढिरहेका कारण प्रयोग गर्न नमिल्ने भएपछि फालिएका बेडलाई मर्मत गरिएको अस्पतालले जनाएको छ । मर्मत गरी प्रयोगमा ल्याएको बेड आवश्यक पर्ने विभागमा राखिने छ । बेड अभावको कारणले कोसी अस्पतालको आकस्मिक कक्षमा झ्यालमा राखेर पनि बिरामी उपचार गर्नुपर्ने बाध्यता रहेको छ । वेड थप भएपछि केही हदसम्म बिरामीको उपचारमा सहज हुने अस्पतालले जनाएको छ ।यो अस्पताल साढे तीन शैय्याको हो । यहाँ दैनिक १ हजारदेखि १ हजार ५ सय जनाले ओपीडिमा बिरामीले स्वास्थ्य सेवा लिंदै आएका छन् । अस्पताललाई पाँच सय शैय्याको स्तरोन्नतिका लागि एमओयू गरेर स्वास्थ्य मन्त्रालयमा पठाइसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार