पोखरा हवाई दुर्घटना : अत्यधिक जलेका कारण शव पहिचान गर्न समस्या

Aadil Times 1+ समाचार ( )
८ माघ २०७९

पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले जानकारी दिए ।

उनका अनुसार ती शव अत्यधिक जलेको हुनाले फरेन्सिक विधिबाट शव पहिचान हुन समस्या भएको हो । “ती शव अत्यधिक रुपमा जलेको हुनाले हामीलाई फरेन्सिक विधिबाट शव पहिचान गर्न समस्या भएको छ”, उनले भने, “आज साँझसम्म पनि हामी शव पहिचान गर्ने कोसिस गर्दछौँ ।

उनका अनुसार फरेन्सिक विधिबाट शव पहिचान गर्न नसकेमा ‘डिएनए’ परीक्षणबाट पहिचान गरिने छ । नेपाल प्रहरीको प्रयोगशालामा ती शवको डिएनए परीक्षण गरिने विभागका प्रमुख डा चौधरीले बताए । डिएनए परीक्षणबाट शव पहिचान गर्नका लागि कम्तीमा २२ दिन लाग्ने उनले जानकारी दिए ।

फरेन्सिक जाँचका लागि काठमाडौँ ४८ शव ल्याइएको थियो । यस्तै पोखरामा २२ जना फरेन्सिक जाँच गरिएको छ । यही माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना भएको थियो । दुर्घटनामा चार चालक दलका सदस्यसहित ७२ जनाको निधन भएको थियो । 

प्रतिक्रिया