नेपाल-भारत सुरक्षा बैठकः७२ घण्टा सीमा शिल हुने

Aadil Times 1+ समाचार ( )
२३ कार्तिक २०७९

झापा र मोरङसँग सीमा जोडिएको भारतको किसनगञ्जमा नेपाल तथा भारतका सुरक्षा अधिकारीबीचको संयुक्त बैठक सम्पन्न भएको छ ।

नेपालको आगामी निर्वाचनलाई लक्षित गरेर नेपाल–भारत सुरक्षा बैठक मंगलबार आयोजना गरिएको हो । बैठकमा निर्वाचनका बेला हुनसक्ने घुसपैठ रोक्न नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्था मजवुत बनाउन विशेष कडाइ गर्ने द्विपक्षीय सहमति भएको छ । भारतसँगको खुला सीमा निर्वाचन सुरक्षाको मुख्य चुनौती मानिन्छ ।

बैठकमा सीमा क्षेत्रको सुरक्षा व्यवस्था मजवुत बनाउनलाई विशेष सहयोग गर्ने प्रतिवद्धता भारतीय सुरक्षा अधिकारीहरुले जनाएका छन् । निर्वाचनलाई शान्तिपूर्ण, भय एवं धाँधलीरहित र निष्पक्ष तवरबाट सम्पन्न गर्न सहयोग गर्ने तथा सीमा क्षेत्रको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिने प्रतिबद्धता भारतीय सुरक्षा अधिकारीले जनाएका हुन् ।

बैठकले सुरक्षासँग सम्बन्धित केही निर्णय पनि गरेको छ । निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि सीमा शिल गर्ने, लागूऔषध एवं साना हतियार तथा नक्कली नोटको ओसारपसार नियन्त्रणका लागि सीमा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाएर निगरानी गर्ने, महिला तथा बालबालिकाको आवतजावतमा निगरानी बढाउने, दशगजा क्षेत्रको अतिक्रमण हटाउन माथिल्लो तहसँग समन्वय गर्ने, सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती बढाउने लगायतका निर्णय बैठकमा भएका हुन् ।

सीमा शिल भएका बेला अतिआवश्यक सेवाहरु बिरामीको उपचार, वैवाहिक कार्यक्रम र वारुणयन्त्रको आवतजावतलाई सहज बनाउने, अन्य सवारीसाधन र मानिसको आवतजावतलाई पूर्ण रूपमा रोक लगाउने, अपराधिक क्रियाकलाप नियन्त्रणका लागि दुई देशका सुरक्षाकर्मीबीच सूचना आदानप्रसाद गर्ने, निर्वाचनका बेला सहयोग गरेर सुरक्षालाई प्रभावकारी बनाउने, चुनावका बेला नेपालमा अपराध गर्नेहरु भारततिर भाग्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा निगरानी बढाउने सहमति नेपाल र भारतका सुरक्षा अधिकारीबीच भएको छ ।

बैठकमा किसनगन्ज जिल्लाका डिस्ट्रिक मजिष्टे«ड (डीएम) श्रीकान्त शास्त्रीको नेतृत्वमा भारतीय सुरक्षा अधिकारीहरु सहभागी भएका थिए । नेपालका तर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, नेपाल प्रहरीका प्रमुख एसपी शान्तिराज कोइराला, सशस्त्रका प्रमुख एसपी राजकुमार लामिछाने, राष्ट्रिय अनुसन्धानका प्रमुख बासुदेव सिग्देल तथा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रहरी प्रमुख विश्वमणि पोखरेल, सशस्त्रका प्रमुख प्रदीपसिंह कार्की र अनुसन्धानका प्रमुख तिलक शर्मा प्रसाईं लगायत बैठकमा सहभागी थिए ।


प्रतिक्रिया