सिंहदरबार, बालुवाटार र राष्ट्रपति परिसरबाट फोहर उठाउन सहरी विकास मन्त्रालयले काठमाडौं महानगरपालिकासँग बुधबार गरेको वार्ता विनानिष्कर्ष टुंगिएको छ। यसबाट संघीय सरकार र महानगरबीचको टकराव झनै बढेको छ।
>
महानगरका मेयर बालेन साहको निर्देशनमा पछिल्लो १० दिनदेखि सिंहदरबार, बालुवाटार र राष्ट्रपति कार्यालयबाट उत्पन्न फोहर बञ्चरे डाँडा ल्यान्डफिल्ड साइटमा जान सकेको छैन।
>
बुधबार दिउँसो सहरी विकासको पहलमा मन्त्रालयका उच्च कर्मचारी र महानगरका प्रतिनिधिबीच वार्ता भएको थियो।>
उक्त वार्ता विनानिष्कर्ष टुंगिएको सहरीका सहसचिव तथा बञ्चरे डाँडा स्यानिटरी ल्यान्डफिल्ड साइट आयोजना कार्यान्वयन एकाइका निर्देशक रवीन्द्र बोहराले बताए।>
सिंहदरबार, राष्ट्रपति कार्यालय तथा बालुबाटारमा उत्पन्न फोहर उठाउन नदिनु महानगरको ज्यादती भएको उनको भनाइ छ।
>
यता महानगरका प्रवक्ता नवीन मानन्धरले महानगरले उठाएका १४ बुँदामा एकएक गरी छलफल नभएसम्म सिंहदरबार, राष्ट्रपति कार्यालय तथा बालुवाटारको फोहर उठ्न नदिने अडान राखे। सहरी र महानगर बीच भएको वार्तामा मेयर आफैं वार्तामा सहभागी भएनन्। उनले प्रमुख प्रशासकीय अधिकारीलाई वार्तामा पठाएका थिए।
>
दुवै पक्षले ल्यान्डफिल्ड साइटको अवलोकन गर्न र त्यसपछि पुनः वार्ता गर्ने सहमति बुधबारको वार्तामा भएको सहरी मन्त्रालय स्रोतको भनाइ छ।
>
मंगलबार दिउँसो महानगरका मेयर साह आफैं सिंहदरबारपरिसर पुगेका थिए। ९ दिनसम्म फोहर नउठाउँदा पनि सिंहदरबारभित्र फोहर किन देखिएको छैन भनेर फोहर उठाउने कर्मचारीसँग सोधपुछ गरेका थिए।
>
परिवर्तन नेपालका अध्यक्ष मित्र घिमिरेका अनुसार बुधबार मेयरले घिमिरेलाई टेलिफोन गरी सिंहदरबारभित्र किन फोहर देखिएन भनी प्रश्न गरेका थिए।
>
‘तर हामीले सिंहदरबारभित्रको धेरैजसो फोहरलाई रिसाइकिलिङ गरेका छौं र प्रशोधन हुन नसकेको फोहर प्रधानमन्त्री कार्यालयअगाडि उद्यानमा खाल्डो बनाइ डम्पिङ गर्ने गरेका छौं’, घिमिरले भने, ‘त्यसैले सिंहदरबार परिसरमा फोहर नदेखिएको हो। तर यो स्थायी सामधान भने होइन।’>
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले विगत १५ वर्षदेखि सिंहदरबार, बालुवाटार तथा राष्ट्रपति कार्यालयको फोहर उठाउन परिवर्तन नेपालसँग वार्षिक ६४ लाख रूपैयाँमा सम्झौता गरेको छ।
>
त्यसैले सिंहदरबार, बालुवाटार तथा राष्ट्रपति कार्यालयको फोहर व्यवस्थापनको जिम्मा संघीय सरकारको भएको सहरीका कर्मचारीको भनाइ छ।>
संविधानको अनुसूची ८ र फोहरमैला व्यवस्थापन ऐन २०६८ अनुसार फोहरमैला व्यवस्थापनको जिम्मा र स्थानीय सरकारलाई रहेकाले यसमा महानगरले अवरोध गर्न नमिल्ने उनको भनाइ छ।
>
‘फोहरमैला व्यस्थापन अत्यावश्यकीय सेवाभित्र पर्छ। फोहर नउठेका कारण सिंहदरबारभित्र दुर्गन्ध फैलिएर प्रकोप सुरु भयो भने यसको जिम्मा महानगरले लिनुपर्छ’, सहरी विकास मन्त्रालयका अर्का एक उच्च कर्मचारीले भने।>
>
>>