अञ्जुको शोकमा छ चाँदनीचोक

Aadil Times 1+ समाचार ( )
४ माघ २०७९

विराटनगर–५ स्थित चाँदनीचोक तीनकुनेमा रहेको को–पाइलट अञ्जु खतिवडाको माइतीघर शोकमा डुबेको छ ।

काठमाडौँबाट गत आइतबार पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरामा अवतरणका क्रममा दुघर्टनामा परेको थियो । चालक दलका चार सदस्यसहित सो विमानमा कुल ७२ सवार थिए । विमानकी को–पाइलट अञ्जुको पनि सोही दुघर्टनामा परेर निधन भएको थियो ।

को–पाइलट अञ्जुको विराटनगरस्थित माइतीघरमा ८९ वर्षीया हजुरआमा शुभद्रा खतिवडाको आँसु थामिएको छैन । बाबु गोविन्दराज खतिवडा र आमा इन्दिरा खतिवडा विमान दुघर्टनाग्रस्त भएको खबर सुन्नासाथ सोही दिन विराटनगरबाट काठमाडौँ प्रस्थान गरेका थिए।

विमान दुघर्टनामा परी नातिनीको निधन भएको खबरले हजुरआमा शुभद्रा विक्षिप्तझैँ भएका छन् । अञ्जुलाई सम्झेर हजुरआमा भक्कानिने गर्नुभएको छ । नातिनीको वियोगमा उनले खानपिउनसमेत छाडेका छन्।

छिमेकी र आफन्त को–पाइलट अञ्जुको माइतीघरमा पुगेर शुभद्रालाई सान्त्वना दिने काम गरिरहेका छन् । तर हजुरआमा बोल्ना साथै नातिनी सम्झेर भक्कानिने गरेका छन् । हजुरआमाले नातिनीमा अदम्य साहस रहेको र जिम्मा लिएको काम पूरा गरेरै छाड्ने गरेको बताइन् । उनले नातिनी अञ्जुसँग विमान दुघर्टनाको १५ दिनअघि भेट भएको बताइन्। विमान ‘हल्ट’ गर्नुपर्दा विराटनगरमा छँदा को–पाइलट अञ्जु माइतीमै रात्रिविश्राम गर्ने गर्थिन् ।

भेटमा हजुरआमाले नातिनी अञ्जुलाई माघे सङ्क्रान्तिमा ज्वाइँलाई लिएर माइती आउन निम्ता दिएकि थिइन् । तर निम्ता अधुरै रह्यो । अञ्जुलाई पुलाउ र तारेको आलु खुबै मनपर्ने भन्दै हजुरआमा शुभद्राले माइतीको पक्का घर पनि अञ्जु आफैँले ठड्याएको बताइन् । छोरा गोविन्द जागिरमा र बुहारी इन्दिरा घरधन्दामा व्यस्त रहने हुँदा आफ्नै काखमा नातिनीलाई खेलाएर हुर्काएको र साथीको झैँ सम्बन्ध रहेको हजुरआमा शुभद्राले बताइन् ।

फूपू प्रमिला सुवेदीले गत साउन १७ गते हजुरबुवा वेदनाथ खतिवडाको वार्षिक श्राद्धको सम्पूर्ण काम भदैनी अञ्जुले आफ्नो जिम्मामा लिएर फत्ते गरेको बताइन् । काका पुण्यप्रसाद खतिवडाले भतिजी अञ्जुमा कहीँकतै खोट लगाउने ठाउँ नभएको बताए । उनि पनि अञ्जुलाई आगोले कति पोल्यो होला भन्दै भक्कानिए । मिलनसार स्वभाव र अत्यन्तै बाठी अञ्जुले पहिलो श्रीमान्को विमान दुघर्टनामा नै निधन भएपछि शोकलाई शक्तिमा बदल्दै आफैँ पनि विमान चालक बनेको काका पुण्यप्रसादले बताए ।

दुघर्टनाको दिन पनि बिहान को–पाइलट अञ्जुले माइतीमा रहेका आफ्ना बाबुआमासँंग टेलिफोनमा कुराकानी गरेको काका पुण्यप्रसादले बताए । को–पाइलट अञ्जुको पहिलो श्रीमान् दिपक पोखरेलको पनि यति एयरलाइन्सको विमान दुघर्टनामा नै निधन भएको थियो । पोखरेलको निधनपछि अमेरीकाबाट विमान उडाउने तालिम लिएकी खतिवडा यती एयरलाइन्समा को–पाइटलको रूपमा कार्यरत थिइन् ।

प्रतिक्रिया