प्रदेश १ मा सभामुखको निर्वाचन आज

Aadil Times 1+ समाचार ( )
२७ पौष २०७९

प्रदेश १ को सभामुखको निर्वाचन बुधवार हुँदै छ । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गामैतको मात्रै उम्मेदवारी परेको छ ।

प्रदेश सभा सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि आज बिहान प्रदेश सभा बैठक बस्दै छ ।त्यही बैठकले गौतमलाई निर्वाचित भएको घोषणा गर्ने छ । प्रस्तावक र समर्थकले समर्थन रहेको जनाएपछि ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गर्ने छन् ।

माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ ।माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

प्रदेश १ को पहिलो कार्यकालमा एमाले सांसद प्रदीपकुमार भण्डारी सभामुख बनेका थिए । दोस्रो कार्यकालमा गौतम बन्नेछन् ।

प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ । सत्तारुढ गठबन्धनबिच भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री र उपसभामुख नेकपा एमालेको भागमा परेको छ ।आजै गौतमले शपथ लिनेछन् । संसद् सचिवालयका प्रमुख गोपाल पराजुलिका अनुसार १ बजे शपथ ग्रहण गर्ने छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउने छ ।

प्रतिक्रिया