आज प्रधानमन्त्री दाहालले निर्देशनात्मक सम्बोधन गर्ने

Aadil Times 1+ समाचार ( )
१८ पौष २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारबाही प्रभावकारी बनाउन सरकारका सचिवसँग उनले सोमबार छलफल गरेका थिए ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री दाहालले सचिवका कार्यविवरण सुनि सके पछि आज आवश्यक निर्देशन दिनेछन् । पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले सुशासन र नागरिकलाई सरल र सहज रूपमा सेवा प्रदान गर्ने घोषणा गरेका थिए ।

पुस ११ मा उनले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने बताएका थिए । विशेष गरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्र लगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने प्रधानमन्त्रीको योजना अनुसार सोमबार पहिलो चरणमा सचिवहरूसँग छलफल गरेका हुन् ।

केही सचिव र विभागका प्रमुखले आ-आफ्नो विभागको कार्यविवरणबारे प्रस्तुति दिन बाँकी छन । सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सचिवहरूले आ–आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेका थिए ।

उनीहरूले मन्त्रालयको नीति तथा कार्यक्रम, वार्षिक बजेट र कार्यसम्पादनमा भएका कमी तथा कमजोरीका बारेमा जानकारी गराएका थिए । छलफलमा गृह, अर्थ, शिक्षा, परराष्ट्र, भौतिक पूर्वाधार, संस्कृति तथा पर्यटन लगायत मन्त्रालयका सचिवहरूले आ-आफ्नो मन्त्रालयको प्रतिवेदन प्रस्तुत गरेका  थिए ।

केही सचिव र विभागको विवरण आज प्रस्तुत भएपछि मात्रै प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यसूची तय भएको प्रेस संयोजक शर्माले जानकारी दिए ।

प्रतिक्रिया