महानगरद्वारा सरसफाईकर्मीका लागि तालिम सञ्चालन

Aadil Times 1+ समाचार ( )
१९ पौष २०७९

विराटनगर महानगरपालिकाले सरसफाईकर्मीका लागि एकदिने अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको आयोजना तथा महानगरको सहकार्यमा तालिम सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले सरसफाईकर्मी महानगरपालिकाको मेरुदण्ड भएको बताउनुभयो । उहाँले महानगरलाई सफा, सुन्दर बनाउन सफाईकर्मीहरुको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो ।

“तपाईं सफाईकर्मीहरु विराटनगर महानगरको मेरुदण्ड हो,” मेयर कोइरालाले भन्नुभयो, “यदि तपाईंहरुले जिम्मेवार भएर काम गर्नु भएन भने त्यसको सम्पूर्ण दोष महानगरपालिका माथि आइपर्छ । त्यसो भएकाले तपाईंहरु अझै राम्रो किसिमबाट काम गर्नुहोस् ।”

सफाईका क्षेत्रमा निकै महत्वपूर्ण कार्य भएको बताउँदै उहाँले अझै राम्रो गर्न निर्देशन समेत दिनुभयो । स्वास्थ्यलाई ध्यान दिएर काम गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

तालिममा सरसफाई व्यवस्थापन शाखाका प्रमुख पुनम दाहाल र श्रम मन्त्रालयका अधिकृत उदयकुमार महतोले सहजीकरण गर्नु भएको थियो । तालिममा महानगरका ४० जना सरसफाईकर्मी सहभागी भएको तालिमको व्यवस्थापक किरण न्यौपानेले जानकारी दिनुभयो । तालिम व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य बचाऊ सम्बन्धी जानकारी दिइएको थियो ।



प्रतिक्रिया