शेयर बजारमा गिरावट

Aadil Times 1+ समाचार ( )
२६ पौष २०७९

नेप्से कारोबारको सुरुवातमा ६५ अंकभन्दा बढी अंकले बढेको नेप्से अन्तिम समयमा आएर गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक २१ दशमलव ३५ अंक घटेर २१ सय ९० दशमलव ४२ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स शुन्य दशमलव ७५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १ दशमलव ३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १७ अंकले घटेको छ ।

मंगलबार कारोबारमा आएका २५४ कम्पनीको २ करोड ८ लाख ४३ हजार कित्ता शेयर ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलबार नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने ११ महिना यताकै उच्च भएको छ ।

नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको हो । जसमा बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको बढेको छ । त्यस्तै, वित्त उपसमूहको परिसूचक ४ दशमलव ३१ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ ।

मंगलबार नेप्से परिसूचक घटे पनि बाराही हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सिंगटी हाइड्रो इनर्जी र विन नेपाल लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । यता, तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य करिव ९ प्रतिशत घटेको छ । मंगलबार ङादी ग्रुप पावर कम्पनीको २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।


प्रतिक्रिया