प्रचण्ड र पूर्णबहादुर खड्काबीच भेट

Aadil Times 1+ समाचार ( )
१५ मंगशिर २०७९

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आइनसक्दै सरकार निर्माणबारे रस्साकस्सी चलिरहँदा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् ।

खड्का प्रचण्डलाई भेट्न खुमलटारस्थित उनकै निवास पुगेका थिए । निर्वाचनको परिणाम आउँदै गर्दा माओवादीले प्रधानमन्त्रीमा दाबी गरेको छ । त्यस्तै कांग्रेसले पनि आफ्नो दाबी छाडेको छैन । जसका कारण सत्ता गठबन्धन कसरी अगाडि बढ्ला भन्ने चासोका बीच प्रचण्डलाई भेट्न खड्का खुमलटार पुगेका हुन् ।

यसअघि प्रचण्ड सुकुटे रिसोर्ट पुगेर ‘रिफ्रेस’ भएर फर्केका थिए । त्यस्तै खड्काले पनि कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाको विकल्प नभएको अभिव्यक्ति दिएका छन् ।

उता गगन थापा लगायतले पनि आफूलाई प्रधानमन्त्रीको दाबेदार बताएका छन् । अर्कातर्फ अन्तिम परिणाम आइनसकेको भए पनि सत्ता गठबन्धनलाई सरकार निर्माणका लागि बहुमत पुर्‍याउन सकस हुने देखिएको छ । जसका कारण गठबन्धनभित्र ‘पावर शेयरिङ’को विषय पेचिलो बनिरहेका सन्दर्भमा खड्का र प्रचण्डको भेटलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया