विराटनगरमा प्रहरी र पहिचान पक्षधर आन्दोलनकारीबीच झडप

Aadil Times 1+ समाचार ( )
१४ चैत्र २०७९

प्रदेशको नाम कोशी राख्ने निर्णय सच्याएर पुनः नामकरण गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको समूह र प्रहरीबीच विराटनगरमा झडप भएको छ ।

पहिचान पक्षधर विभिन्न संघसंस्थाको संयुक्त समितिको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको छ भने प्रदर्शनकारीले पनि प्रहरीतर्फ ढुंगा हानेका छन् । प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरुले आन्दोलन गरिरहेका छन् ।

त्यसैक्रममा प्रदेशसभाका सदस्यहरु सहभागी हुने एक कार्यक्रम विराटनगरको विग होटलमा हुने तयर भएपछि त्यस क्षेत्रमा केन्द्रित भएर पहिचानवादीहरुले प्रदर्शन गरेका छन् ।

चैत ५ गते विराटनगरमा भएको पहिचान पक्षधरको प्रदर्शनको क्रममा घाइते भएका पदम लिम्बुको उपचारका क्रममा चैत १० गते मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ । 

मुख्यमन्त्री कार्यालय नजिकै रहेको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तर्क्रियात्मक कार्यशालामा सहभागी प्रदेशसभा सदस्यहरुलाई दबाव दिन आएका प्रदर्शनकारीलाई प्रहरीले रोकेको थियो ।

आन्दोलनकारीले होटल विगमा प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको थियो । आन्दोलनकारीले कफी सपको सीसा पनि फुटाइदिएका छन् ।

प्रहरीले पानीको फोहोरासमेतको प्रयोग गरेर आन्दोलनकारीलाई तितरवितर पारेको छ ।

प्रतिक्रिया