तीन महिनाभित्र महानगरका सबै मुख्य सडकमा बिजुली

Aadil Times 1+ समाचार ( )
२७ पौष २०७९

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित विकसित महानगर बनाउने अभियानमा लागेको महानगरले ‘उज्यालो अभियान’ सुरु गरेको छ ।

पहिलो चरणमा सीमाना सडकलाई प्राथमिकतामा राखेर महानगरले बत्ती जडान गरिरहेको छ । रातिको समयमा लाइट नबालिकनै पनि गाडी कुदाउन सक्ने होस् भन्ने चाहेको महानगरका मेयर नागेश कोइरालाले बताए ।

विराटनगरवासीले गर्व गर्न लायक महानगर बनाउने आफ्नो लक्ष्यमा सबैतिरबाट साथ र सहयोग पाइरहेको उनको भनाइ थियो ।

‘उज्यालो विराटनगर’ अभियानलाई सार्थक बनाउन सम्बन्धित शाखालाई निर्देशन दिइसकेको र काम पनि भइरहेको मेयर कोइरालाले बताए । पहिलो चरणमा पुष्पलालचोक–मेनरोड हुँदै रोडशेषसम्म जडान हुनेछ । हाल पुष्पलालचोक देखि ट्राफिक चोकसम्म जडान भइसकेको विद्युतका इन्जिनियर अनिल सिंहले जानकारी दिए ।

त्यस्तै महानगरको सिमाना ढाट (प्रवेशद्वार)देखि रोडशेष हुँदै कोशी राजमार्ग दुवै भाग, रानीपथ हुँदै भन्सारसम्म जडान गरिनेछ । पहिलो चरणमा एक सय वाटका ७७० वटा बत्ती जडान हुनेछ । त्यस्तै ५० वाटका २५० बत्ती जडान हुनेछ ।

यसअघि सोलार जडान भएको सडकमा पनि बिजुली बत्ती नै जडान गरिने छ । सोलारको मर्मत खर्च बढी हुने भएकाले महानगरले बिजुलीबत्ती नै जडान गर्ने निर्णयमा पुगेको हो । सोलार भएको ठाउँमा विद्युतीकरण गरी एलिडी बत्ती जडान गर्ने तयारी रहेको उनले बताए ।

दोस्रो चरणमा वडाका सिमाना सडक, मानिसको बढी आवत जावत र भीडभाड हुने सडकमा बत्ती जडान गरिने इन्जिनियर सिंहले बताए । मेयरको आदेश अनुसार अबको ३ महिनाभित्र महानगरका १९ वटै वडामा बत्ती जडान गरिसकिने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए ।

बत्ती खरिदका लागि टेन्टरमा गइसकेकाले माघको पहिलो हप्ताभित्र बत्ती आइसक्ने कोइरालाले जानकारी दिए । बत्तीका लागि वडाले विनियोजित गरेको बजेट खर्च गरिसकेपछि मात्रै महानगरले बत्ती र तार उपलब्ध गराउनेछ ।


प्रतिक्रिया

सम्बन्धित समाचार