हाजी इन्जिनियरिङद्वारा विराटनगर महानगरलाई डस्विन प्रदान

Aadil Times 1+ समाचार ( )
१ जेठ २०८०

विराटनगरर विराटनगर तीनपैनीस्थित हाजी इन्जिनियरिङ एण्ड ग्रिल वर्कसपले विराटनगर महानगरपालिकालाई विशेष किसिमको डस्विन प्रदान गरेको छ ।

आज आयोजित एक समारोहका बीच मेयर नागेश कोइरालालाई डस्विन हस्तान्तरण गरिएको हो । पहिलो चरणमा महानगरलाई १० थान डस्विन प्रदान गरेको वर्कसपका सञ्चालक मोहम्मद अनवर अन्सारीले बताए । महानगरलाई चार महिनाभित्र १ सय २५ थान डस्विन प्रदान गरिसक्ने उनले प्रतिवद्धता जनाए । उनले विराटनगर बनाउने दायित्व सबैको भएकाले आफूले महानगरले जारी राखेको सरसफाई अभियानमा सहयोग पुगोस् भनेर निःशुल्क रुपमा डस्विन प्रदान गरेको जानकारी दिए ।

डस्विन निर्माण गर्दा एउटाको १२ हजार ५ सय परेको उनले बताए । त्यस्तै कार्यक्रममा मेयर कोइरालाले अनवर जस्तै मनकारीहरुको साथ र सहयोग प्राप्त भए विराटनगर समृद्धि र व्यवस्थित बन्न समय नलाग्ने दाबी गरे । उनले महानगरको एक्लो प्रयासले मात्रै विराटनगरको विकास गर्न नसकिने उल्लेख गरे । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान जारी रहेको बताए । उनले अभियान सफल बनाउन सबैलाई सहयोग गर्न आग्रहसमेत गरे । महानगरको सरसफाई शाखाका प्रमुख पुनम दाहालले प्राप्त डस्विनलाई मुख्य बजार क्षेत्रमा राखिने जानकारी दिए ।

प्रतिक्रिया