सटरभन्दा बाहिर सामान राखे नियन्त्रणमा लिन मेयर कोइरालाको निर्देशन

Aadil Times 1+ समाचार ( )
२ माघ २०७९

पसलको सटरभन्दा बाहिर सामान राखे मंगलारदेखि नियन्त्रणमा लिन महानगर प्रहरीलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले निर्देशन दिएका छन् ।

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरपालिकाले सरसफाई, फुटपाथ नियन्त्रण, सेटब्याक हटाउने र पार्किङ व्यवस्थापनको अभियान जारी राखेको छ । महानगरका मेयर कोइराला नेतृत्वको टोलीले सोमबार पार्किङ र फुटपाथको अवस्थाका बारेमा स्थगलत अनुगमन गरेको छ ।

अनुगमनका क्रममा पसलको सटरभन्दा बाहिर पनि सामान राखेको पाइएको थियो । मेयर कोइरालाले सटरभन्दा बाहिर सामान राखे नियन्त्रणमा लिन महानगर प्रहरीलाई तत्कालै निर्देशन दिए । “महानगरले पटक–पटक सार्वजनिक सूचना जारी गरेर र माइकिङ गरेर तपाईंहरुलाई सटरभन्दा बाहिर सामान नराख्न आग्रह गरिसकेको छ,” मेयर कोइरालाले भने, “भोलि मंगलबारदेखि बाहिर राखे महानगर प्रहरीले नियन्त्रणमा लिन्छ । त्यसमा तपाईंहरुले गुनासो गर्न पाउनु हुन्न ।”

उनले विराटनगरलाई व्यवस्थित बनाउने दायित्व महानगरवासी सबैको भएकाले सहयोग गर्न आग्रहसमेत गरे । सटरभन्दा बाहिर सामान नराख्न व्यापारीहरुलाई मेयर कोइरालाले हात जोडेरै अपिल गरेका थिए ।

अनुगमनमा मेयर कोइरालाका साथै उपमेयर शिल्पा निराला कार्की, ११ नम्बर वडाका अध्यक्ष समेत रहेका यातायात व्यवस्थापन समितिका संयोजक तीर्थेन्द्र न्यौपाने, राजस्व महाशाखा प्रमुख सरोज गौतम, महानगर प्रहरीका प्रमुख राजन पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजकुमार कार्की लगायतको सहभागिता रहेको थियो । त्यस्तै टोलीले महानगर क्षेत्रभित्र सञ्चालनमा ल्याउन लागेको पार्किङस्थलको पनि निरीक्षण गरेको थियो ।

महानगरले पहिलो चरणमा जलजला चोक देखि कोशी अस्पताल चोक सम्मलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरिसकेको छ । सो क्षेत्रको पार्किङ व्यवस्थापन जलजला हल अगाडि गरिएको छ ।

टोलीले महावीर रोड उत्तर र पुरानो गुद्रीमा निर्माण भइरहेको पार्किङस्थलको पनि निरीक्षण गरेर महानगर प्रहरीसित पछिल्लो अवस्थाबारे जानकारी लिएको थियो । त्यस्तै हिमालय रोडमा रहेको सपिङ कम्प्लेक्सको अण्डरग्राउण्ड पार्किङ पनि सञ्चालनमा ल्याउने भएको छ । ट्राफिक चोकमा रहेका मोचीहरुलाई पनि अन्य स्थानमा व्यवस्थापन गर्ने तयारी गरेको मेयर कोइरालाले बताए ।


प्रतिक्रिया