जग्गा खरिद घोटालामा मुछिएका मन्त्री केदार कार्कीको चुनावी कार्यक्रम बहिष्कार

Aadil Times 1+ समाचार ( )
सुकुम्बासीको लागि भनेर किनिएको जग्गामा...
२९ कार्तिक २०७९

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की सहभागी भएको चुनावी कार्यक्रम विराटनगरका स्थानीयले बहिष्कार गरेका छन् ।

उनको उपस्थितिमा लोकतान्त्रिक–बाम गठबन्धनले मोरङ निर्वाचन क्षेत्र नम्बर ६ ‘ख’मा सोमबार आयोजना गरेको चुनावी कार्यक्रम विराटनगर महानगरपालिका–१२ बखरीका स्थानीयले बहिष्कार गरेका हुन् । आगामी निर्वाचनका लागि कांग्रेसका केदार सत्तारुढ गठबन्धनबाट सोही क्षेत्रमा प्रदेशसभा सदस्यका उम्मेदवार छन् । २०७४ सालको निर्वाचनमा उनी यही क्षेत्रबाट निर्वाचित बनेर मन्त्री भएका हुन् ।

आगामी निर्वाचनका लागि पनि उम्मेदवार बनेका केदार मतदाताको बहिष्कारमा परेका छन् । केदार सहभागी कार्यक्रमस्थललाई स्थानीयले बीचैमा छाडेर बहिष्कार गरेका थिए । आफू सांसद र मन्त्री भएपछि गरेका कामको बोलिविस्तार उनले लगाइरहँदा स्थानीयले प्रतिवाद गरेका थिए ।

सडक सञ्जाल, बाढी तथा विद्युत व्यवस्थापन र सुकुम्बासी बस्तीलगायतको विषयमा मन्त्री केदारले बोलिरहँदा सुनेर बसिरहेका स्थानीय त्यसपछि थामिएनन् । प्रतिकारमा उत्रिए । स्थानीय उमा गिरीले गाउँमा विकास नभएको भन्दै मन्त्री केदार बोलिरहेकै बेला प्रतिकार गर्दै विरोध जनाइन् ।

‘हाम्रो गाउँमा विकास भएकै छैन’ भन्दै उमाले गुनासो गर्दा मन्त्री केदारले उनलाई रोकेर फेरी आफूले गरेका कामको फेहरिस्त सुनाउन थालेका थिए । त्यस क्षेत्रमा समस्या हुँदा आफूले टोलटोलमा छिरेर समाधानको प्रयास गरेको केदारले बताइरहे । ‘सन्तान नरोइन्जेलसम्म आमाले सन्तानलाई छाडेर काम गरिरहने र सन्तान रुनेबित्तिकै आमाले आफ्नो सबै काम छाडेर सन्तान हेर्ने’ उदाहरण दिँदै मन्त्री केदारले स्थानीय क्षेत्रमा समस्या पर्दा आमाले सन्तानलाई हेरेको जस्तै आफूले हेरविचार गरिरहेको र समस्या समाधान गर्न लागि परेको भनेर आफ्नो बचाउ गरे ।

मन्त्रीले आफ्नो बचाउ गरिरहँदा उपस्थित स्थानीय भने त्यस क्षेत्रमा विकास नभएको भन्दै गुनासो गरिरहेका थिए । समस्या पर्दा आफूलाई जुनसुकै बेला सम्पर्क गर्न सकिने भन्दै उनले समस्या परेका बेला खबर गर्न सबैलाई अनुरोध गरे । मन्त्रीले आफूले गरेको काम सुनाइरहँदा स्थानीयले ‘तपाईंको मूल्यांकन हामी गर्छौं, तपाईं आफैँ नसुनाउनुहोस्,’ भन्दै बीचमा रोक्ने प्रयास गरे ।

तर बोल्दै गरेको स्थानीयलाई रोकेर मन्त्री कार्कीले ‘तपाईंले मैले गरेको काम नदेख्नु भएकाले मैले सुनाएको हो’ भन्ने तर्क गरे । त्यसपछि कार्यक्रमस्थलमा उपस्थित भएका बहादुर कामतले आफ्नो छोरा बिरामी हुँदा उपचारमा सहयोग गर्न मन्त्री कार्कीलाई बारम्बार सम्पर्क गरे पनि सहयोग नपाएको गुनासो सुनाए ।

आफूले लगातार ३ दिनदेखि छोराको उपचारका लागि मन्त्री केदारलाई सम्पर्क गरे पनि वास्ता नगरेको भन्दै उनले आफ्नो लागि काम नगर्ने नेतालाई भोट नदिने भनेर आक्रोश पोखे । बहादुरले आरोप लगाएपछि आफ्नो बचाउमा उत्रिएका मन्त्री केदारले झुट नबोल्नु भन्दै उनलाई रोक्ने प्रयास गरे ।

तर आक्रोशित भएका स्थानीयले ‘पुराना नेतालाई भोट नदिने’ भन्दै होहल्ला सुरु गरे । त्यसपछि केदारले ‘आफूले जबरजस्ती तपाईंको भोट नलाने’ भन्दै स्थितिलाई नियन्त्रण गर्ने प्रयास गरे । सँगै रहेका उनका सहयोगी र पार्टीका कार्यकर्ताले स्थिति सहज बनाउने प्रयास गरे पनि उनीहरु विफल भए ।

सार्वजनिक हिसाबले आयोजित चुनावी कार्यक्रममा आफूमाथि लागेको आरोपको प्रतिकार गर्दै मन्त्री केदारले आफ्नो बचाउ गरिरहँदा उपस्थित स्थानीयले प्रभावकारी काम गर्न नसकेको भन्दै विरोध जनाइरहे । मन्त्री केदार र उनका समर्थकले स्थिति नियन्त्रण गर्न खोज्दै उपस्थित भएकालाई थामथुम पार्ने प्रयास गरिरहे पनि स्थानीयले कार्यक्रम बहिष्कार गर्दै कार्यक्रमस्थल छाडेर हिँडेका थिए । त्यसपछि कार्यक्रम नै भाँडियो ।

आफूहरुले केदार कार्कीले मात्रै नभइ यसअघि निर्वाचित भएर पनि काम गर्न नसकेका सबै नेताको विरोध गरेको स्थानीयले बताए । स्थानीयले कार्यक्रम बहिष्कार गरिरहँदा केदारलगायत उपस्थित उनका समर्थकले सबैलाई सम्झाउने प्रयास गरिरहे । त्यसलगत्तै ‘तपाईंले हाम्रो क्षेत्रमा विकास गर्न सक्नु भएन भनेर’ स्थानीयले कार्यक्रमस्थल छाडेर हिँडेका थिए ।

स्थानीयले बहिष्कार गर्दै कार्यक्रमस्थल छाडेर गएपछि मन्त्री केदार कांग्रेसका कार्यकर्तासँग केहीबेर सोही स्थानमा छलफल गर्दै बसिरहे । स्थानीयले कार्यक्रमस्थल छाडेको लगभग १५ मिनेटपछि मात्रै उनी त्यहाँबाट अर्को कार्यक्रमस्थलतर्फ हिँडेका थिए ।

मन्त्री केदारको अगुवाईमा विराटनगर–१२ मा निर्माणाधीन सुकुम्बासी बस्ती (सम्पन्न बस्ती) को जग्गा खरिदमा लाखौंको घोटाला भएको पाइएको छ । बस्ती निर्माणका लागि ७६ कट्ठा ५ धुर जग्गा खरिद गर्दा ३४ लाख २० हजार रूपैयाँभन्दा बढी अपचलन गरिएको हो ।

जग्गाधनीसँग प्रतिकट्ठा ४ लाख ५५ हजार रूपैयाँका दरले जग्गा खरिद गर्दै मालपोतबाट भने ५ लाखका दरले रजिष्ट्रेसन पास गरेर अनियमितता गरिएको हो । घोटाला गरेर केही व्यक्तिले लाभ लिएपनि जग्गा प्राप्तिका लागि बढी रकम तिर्नुपर्ने भएपछि सुकुम्बासी भने ठूलो मर्कामा परेका छन् । सुकुम्बासीलाई प्रतिकट्ठा ४५ हजार रूपैयाँ बढी भार पर्ने गरी जग्गाको रजिष्ट्रेस पास गराइएको हो ।

तर मन्त्री केदार भने सुकुम्बासीका लागि आफूले काम गरेको भनेर खुला भाषण गर्दै भोटका लागि राजनीति गरिरहेका छन् । चुनावमा सुकुम्बासी समस्या समाधानलाई उनले मुख्य मुद्दा बनाएका छन् । सुकुम्बासीको लागि भनेर किनिएको जग्गामा भने खरिद गरिएको भन्दा बढी मूल्य देखाएर उनीहरुसँगै असुल गर्ने काम भइरहेको छ ।

संयुक्त रुपमा १ सय ४५ जनाको नाममा जग्गा रजिष्ट्रेसन पास गरेको देखिन्छ । सरकारले हाल कित्ताकाट नखोलेका कारण संयुक्त रूपमा रजिष्ट्रेसन पास गरी संयुक्त रुपमै लालपूर्जा बनाइएको छ ।

जग्गा खरिद घोटालामा मन्त्री केदार, नेपाली कांग्रेस १२ नम्बर वडाका सभापति हरिनारायण यादव, १२ नम्बरका वडाध्यक्ष हिरालाल कामत, श्याम कामत र नरेश मास्टर भनिने रामनरेश साहसमेतका व्यक्तिहरु मुछिएका छन् । जग्गाधनीसँग प्रतिकट्ठा ४ लाख ५० हजार रूपैयाँका दरले जग्गा खरिद गर्ने गरी बैनाको कागज बनाइएको छ । खरिद गर्न १ वर्ष ढिला भएकाले जग्गाधनीलाई प्रतिकट्ठा ४ लाख ५५ हजार उपलब्ध गराएको पाइएको छ ।

रजिष्ट्रेस पास गराउँदा भने प्रतिकट्ठा ५ लाख देखाएर एक कट्टाको ४५ हजार रूपैयाँ (७६ कट्ठा ५ धुरको ३४ लाख २० हजारभन्दा बढी) झ्वाम पारिएको छ । केदारसहितको टिमले झ्वाम पारेको उक्त रकम सुकुम्बासीको थाप्लोमा थोपरिएको छ । जीवन विकासमार्फत गरिएको उक्त जग्गाको किस्ता बुझाउन नसकेर सुकुम्बासी भने हैरान छन् । उनीहरुले प्रत्येक १५/१५ दिन किस्ता बुझाउनुपर्ने हुन्छ ।

आफ्नै टिमबाट ठगिएका सुकुम्बासीसँग तिमीहरुका लागि मैले काम गरिदिएँ भनेर मन्त्री केदारले भोट मागिरहेका छन् । तर अशिक्षा, बेरोजगारी र गरिबीले थलिएका ती सुकुम्बासीलाई जग्गा खरिदको सुरुवातमै आफूहरु ठगिएका छौँ भन्ने थाहै छैन ।

आफ्नो पहलमा बस्ती निर्माण भइरहेको भनेर एकल जस लिँदै अघि बढिरहेका केदारले सुकुम्बासी बस्तीलाई देखाएर चुनावको प्रचारप्रसार गरिरहेका थिए । आफूले सुकुम्बासीलाई जग्गा र घर दिलाउने भूमिका खेलेको दाबी गर्दै चुनाव जिताउन आग्रह गरिरहँदा उनका कुरा मतदाताले पत्याएनन् । सुकुम्बासीमाथि ठूलो घात गरेका केदार चुनाव जित्नलाई उनीहरुसँगै अनेक बाचा गरिरहेका हुन् । स्वार्थपूर्ण हिसाबले काम गर्न खोज्दा विवादै विवादले भरिएका उनी मतदाताबाट बहिष्कारमा पनि पर्न थालेका छन् ।

यो पनिः

मन्त्रीको अगुवाईमा जग्गा खरिद प्रकरण :किनेको भन्दा अधिक मूल्यमा सुकुम्बासीलाई बिक्री गरिँदै

सुकुम्बासी बस्तीको जग्गा खरिदमै लाखौँ घोटाला :मन्त्री कार्कीको संलग्नता

ब्रह्मपुराबासी भन्छन्, ‘मन्त्री कार्कीले धोका दिए, पीडा बुझेनन्’

मन्त्री कार्कीको विवादित योजना : मतदाता प्रभावित पार्न आचार संहिता मिचेर सेल्फी पुलको ‘तमासा’


प्रतिक्रिया