विराटनगरलाई डुबानबाट मुक्त गराउन विराटनगर महानगरपालिकाले सम्भाव्यता अध्ययन सुरु गरेको छ ।
>
डुबान समस्याको दीर्घकालीन समाधान खोज्न महानगरले एसियाली विकास बैंक (एडीवी)को सहयोगमा वर्षातको पानीले हुने डुबान व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको हो । वर्षाको पानी सहज निकास नहुँदा हरेक वर्षायाममा विराटनगर डुबानमा पर्ने गरेको छ । महानगरलाई वैज्ञानिक रुपमै डुबानबाट मुक्त गर्न एडीवीको सहयोगमा सम्भाव्यता अध्ययन सुरु गरेको मेयर नागेश कोइरालाले जानकारी दिए । >
मेयर कोइरालाको नेतृत्वमा सोमबार अध्ययन टोलीले महानगरका डुबानग्रस्त विभिन्न वडाको स्थलगत निरीक्षण गरेको छ । आरयूडीपी प्रोजेक्टअन्तर्गतको स्मेक डिएमले वर्षातको पानी व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको मेयर कोइरालाले बताए । विराटनगरमा जम्ने पानीलाई कसरी सिंघिया र केसलिया खोलामा लगेर व्यवस्थापन गर्न सकिन्छ भनेर एडीवीका कन्सलट्यानहरूबाट अध्ययनको सुरुवात गरिएको उनको भनाइ छ ।
>
त्यस्तै पुराना पैनीहरू घोगा, बस्ता, धुदुवा, च्याङबारी, मर्लीखोला लगायतको पानीलाई पनि मूलखोलामा पु¥याएर वर्षाको पानीलाई व्यवस्थापन गर्ने महानगरको योजना छ । “विराटनगरको उत्तरदेखि दक्षिण र पूर्वदेखि पश्चिमसम्मको भाग हेरिरहेको छौं,” मेयर कोइरालाले भने, “एडीवीबाट आएका साथीहरूसँग म आफैं हिंडिरहेको छु ।
>
उहाँहरूले अध्ययन गरेपछि एक–दुई हप्ताभित्रैमा प्रतिवेदन तयार पार्नुहुनेछ र त्यसपछिको प्रक्रियामा अगाडि बढ्नेछौं । मेयर कोइरालाले वैज्ञानिक ढंगले व्यवस्थापन नगरेसम्म महानगरको डुबान समस्या समाधान नहुने बताए । उनले प्राविधिक टोलीलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्न आग्रह गरिएको सुनाए ।
>
स्मेक डिएमका टिम लिडर डा. शेख जाबेद मोहम्मद सहितको प्राविधिक टोलीले सम्बन्धित वडामा पुगेर पानीको निकासका विषयमा सूक्ष्म अध्ययन गरेको छ । टोलीले अध्ययनपछि विस्तृत प्रतिवेदन तयार पार्नेछ । आफूले चुनावकै बेला विराटनगरलाई डुबानमुक्त बनाउने वाचा गरेअनुसार नै काम सुरु गरेको मेयर कोइरालाको भनाइ छ । “म मात्रै होइन विराटनगरलाई डुबानमुक्त बनाउन उपमेयर र वडाध्यक्षहरू तथा सबै कार्यपालिका सदस्यहरूको गम्भीर हुनुहुन्छ,” मेयर कोइरालाले भने, “वर्षाको पानीबाट हुने डुबानको व्यवस्थापन गर्न सकियो भने हाम्रो कार्यकालको सबैभन्दा ठूलो उपलब्धि हुनेछ ।”
>
प्राविधिकसहितको टोलीले विराटनगर वडा नम्बर ३, १५, १७, १८ र १९ मा पुगेर स्थलगत अध्ययन गरेको छ । प्राविधिक टोलीले खोला र पैनीको वर्षातको समयमा हुने अवस्थाबारे स्थानीयसितसमेत कुराकानी गरेको थियो । >
महानगरका डुबान समस्या भएका अन्य वडाको पनि अध्ययन गर्नेछ । अध्ययन टोलीलाई सम्बन्धित वडाका अध्यक्षले समेत डुबानका बारे जानकारी गराएका थिए । वडा नम्बर १९ का वडाध्यक्ष श्याम घिमिरे, १५ का प्रकाश साह, १८ का जितेन्द्रकुमार साहले वर्षातको पानीका कारण हुने समस्या राखेका थिए । >
उनीहरूले वडामा बढी डुबान हुने स्थानमै पु¥याएर टोलीलाई अवलोकन गराएका थिए । टोलीमा महानगरका इन्जिनियरहरू पनि सहभागी थिए । अझै केही दिन विराटनगरका अध्ययन वडामा पुगेर अध्ययन गर्ने टोलीमा सहभागी नवराज भण्डारीले जानकारी दिए ।
>
>