धरानमा उपमहानगरको डोजर चल्यो, स्थानीय र प्रहरीबीच झडप

Aadil Times 1+ समाचार ( )
८ माघ २०७९

सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएको संरचनामाथि सुनसरीको घर धरान उपमहानगरपालिकाले डोजर लगाएपछि आइतबार झडप भएको छ ।

धरान उपमहानगरपालिका ५ मा रहेको अँधेरी खोला किनारको जग्गा अतिक्रमण गरेर स्थानीय मुना चौधरी लिम्बूले बनाएको घरमाथि उपमहानगरले डोजर चलाएको थियो । उपमहानगरले घर भत्काउनुअघि २ पटक सूचना दिएको भएपनि वेवास्ता भएपछि घर भत्काइएको जनाएको छ ।

नगरको डोजर आउने सूचना पाएपछि धरान ५ का पूर्ववडाध्यक्ष सन्तोष लिम्बूसहित स्थानीयबासी घरको सुरक्षार्थ भेला भएका थिए। उनीहरुले मुना चौधरी लिम्बूले लामो समयदेखि भोगचलन गरिरहेको जमिनमा घर बनाएको भन्दै भत्काउन अबरोध गर्ने प्रयास गरेका थिए । तर, ठूलो संख्यामा परिचालित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले स्थिति नियन्त्रणमा लिएर डोजर चलाएको थियो ।

पूर्व वडाध्यक्ष लिम्बूले उपमहानगरले खोलाको भाग सिमांकन गर्नुपर्ने माग गरेका थिए। उपमहानगरले घर नबनाउन पत्राचार गरेपछि घरधनी मुनाले वडा कार्यालयलाई विपक्षी बनाएर अन्तरिम आदेशको माग गर्दै जिल्ला अदालत सुनसरीमा रिट दायर गरेकी थिइन् । अदालतले उनको रिटमा अदालतले अन्तरिम आदेश दिएको थिएन ।

सो जग्गालाई फुटबल मैदान बनाउने भन्दै पूर्व वडाअध्यक्ष लिम्बुले सरकारी बजेटबाट रिटेनिङ वाल उठाएर जग्गा संरक्षण गरेका थिए।

डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीय बासिन्दा बीच झडप हुँदा उपमहानगरको डोजरको सिसा फुटेको छ भने केही व्यक्ति सामान्य घाइते भएको प्रहरीको भनाइ छ ।

धरान उपमहानगरपालिकाले संरक्षण गरी बहुजातीय रंगशाला बनाउने भनेको स्थानमा अनधिकृत बसोबास बस्न थालेकोले र पटकपटक आग्रह गर्दा पनि अटेर गरेर घर निर्माण गरेकोले भत्काउनुपरेको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए ।

प्रतिक्रिया