नेपाल टी–ट्वान्टी लिगमा काठमाडौंले विराटनगरलाई ३४ रनले हरायो

Aadil Times 1+ समाचार ( )
१९ पौष २०७९

काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा काठमाडौं नाईट्सले विराटनगर सुपर किंग्सलाई हराएको छ । टियु मैदानमा मंगलबार भएको खेलमा काठमाडौंले विराटनगरलाई ३४ रनले हराएको हो ।

खेलाडीहरुले पारिश्रमिक नपाएको कारण बिहान निर्धारित समयमा टस हुन सकेको थिएन । लामो समयको छलफल पछि सहमति भएको थियो । सहमति पछि खेल ९ ओभरमा झारिएको थियो । जितको लागि ९३ रनको लक्ष्य पछ्याएको विराटनगरले ८.५ ओभरमा अलआउट हुँदै ५८ रन मात्र बनायो ।

विराटनगरका लागि गौरान्शूं शर्माले २२, विवेक यादवले १२ तथा नन्दन यादवले अविजित ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

काठमाडौंका लागि कमल सिंह ऐरीले ३, सुनाम गौतम र अनिल खरेलले समान २/२ तथा बसिर अहमद र अभिनाश बोहरा एक/एक विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले ९ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनाएको थियो ।

काठमाडौंका लागि सन्दिप रजालीले अविजित ३२, कमलसिंह ऐरीले अविजित १४, कप्तान ज्ञानेन्द्र मल्लले १४ तथा एलेक्स ब्लेकले १३ रन बनाए ।

विराटनगरका लागि नन्दन यादवले ३ तथा हुसेन तलत र कियोन जोसेफले समान एक/एक विकेट लिए । जितसँगै काठमाडौं ८ अंक सहित तेस्रो स्थानमा कायमै रहेको छ । विराटनगर ४ अंक सहित पाँचौ स्थानमा रहेको छ ।


प्रतिक्रिया