सेभियाविरुद्ध म्यानचेस्टर सिटीको सहज जित

Aadil Times 1+ समाचार ( )
१७ कार्तिक २०७९

इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको समूह चरणको आफ्नो अन्तिम खेलमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा घरेलु टिम सिटीले सेभियाविरुद्ध ३–१ को जित निकालेको हो ।

सिटीको जितमा रिको लेविस, जुलियन अल्भारेज र रियाद महरेजले गोल गरे । यता, सेभियाका राफा मिरले गोल फर्काए । खेलको ३१औँ मिनेटमा राफा मिरले गोल गर्दै सेभियालाई १–० को अग्रता दिलाए ।

उनकै गोलमा सेभियाले म्यानचेस्टर सिटीविरुद्ध पहिलो हाफसम्म अग्रता बनाएको थियो । तर यो अग्रता दोस्रो हाफमा जोगाउन नसक्दा हार ब्यहोरेको हो । खेलको ५२औँ मिनेटमा रिकोले गोल गर्दै सिटीलाई १–१ को बराबरीमा ल्याए ।

खेलको ७३औँ मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । यसपछि खेलको ८३औँ मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए । यहि समूह ‘जी’ भएको अर्को खेलमा बोरुसिया डर्टमुन्डले कोपनहेगनसँग १–१ गोलको बराबरी खेलेको छ ।

डर्टमुन्डले बराबरी खेले पनि समूहको दोस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा स्थान बनाएको छ । म्यानचेस्टरले सिटी ६ खेलबाट १४ अंक बनाउँदै शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा रहेको डर्टमुन्डले ६ खेलबाट ९ अंक बनाएर नकआउट चरणमा प्रवेश गरेको हो । सेभियाले ६ खेलबाट पाँच र कोपनहेगनले समान खेलबाट तीन अंक जोडे ।


प्रतिक्रिया