निर्वाचनमा गठबन्धन गर्नु लोसपाको बाध्यता : महन्थ ठाकुर

Aadil Times 1+ समाचार ( )
२० कार्तिक २०७९

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा  विभिन्न पार्टीसँग गठबन्धन गर्नु आफ्नो पार्टीको बाध्यता रहेको स्पष्ट पारेका छन् ।

महोत्तरी सदरमुकाम जलेश्वरमा आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन घोषणापत्रको सार्वजनिक गर्दै उनले मधेसी जनतालाई थप अधिकार सम्पन्न बनाउनका लागि विभिन्न ठूला दलसँग निर्वाचनमा सहकार्य गरेको बताए ।

अध्यक्ष ठाकुरले मधेस आन्दोलनका क्रममा उठेका आवाजलाई पूरा गर्न र मधेसलाई न्याय दिलाउनका लागि लोसपाले गठबन्धन गर्नुपरेको बताए । जेलमा रहेका साथीहरूलाई  निकाल्नुपर्ने छ, झुठा  राजनीतिक मुद्दा खारेज गराउनुपर्ने छ, नागरिकता र संविधान संशोधनको मुद्दा सम्बोधन गराउनुपर्ने छ । साथै मधेस र मधेसीलाई अधिकार सम्पन्न बनाउनु पर्ने छ ।  त्यसैले गठबन्धन लोसपाको बाध्यता हो , उनले भने ।

सञ्चारकर्मीको एक प्रश्नको जवाफमा अध्यक्ष ठाकुरले मधेस र मधेसी जनतालाई थप हक अधिकार दिलाउन  लोसपा सक्षम रहेको बताए । घोषणापत्रमा समेत मधेस र मधेसीलाई नागरिकतादेखि संविधानसम्म हकअधिकारको प्रत्याभुति, शिक्षा, स्वास्थ्य, कृषि, लोकतन्त्रको रक्षा, पहिचानसहितको सङ्घीयता, संसदीय व्यवस्थाको निरन्तरता, राष्ट्र हितमा ठोस र व्यावहारिक विदेश नीतिको निर्माण, सुशासन, सदाचार भ्रष्टाचारमुक्त समाज निर्माण, महिला सशक्तीकरण, युवा सशक्तीकरण लगायतका विषयलाई समावेश गरिएको छ । सो कार्यक्रममा नेता शरतसिंह भण्डारी, अनिलकुमार झा र उमाकान्त झाले संयुक्त रूपमा घोषणापत्र सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया