विराटनगर महानगरपालिकाले पार्किङ निषेधित गरिएका सडकलाई पखालेर चिटिक्क पारियो

Aadil Times 1+ समाचार ( )
१० माघ २०७९

विराटनगर महानगरपालिकाले सरसफाईलाई तीव्रता दिएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित बनाउने अभियान अन्तर्गत महानगरले ब्रुमर लगाएर सडकको धुलो उठानुका साथै पानी लगाएर पखाल्ने काम समेत गरिरहेको छ ।

पहिलो चरणमा महानगरले बजार क्षेत्रका मुख्य सडकको धुलो सफा गर्ने अभियान सञ्चालन गरेको छ । पार्किङ व्यवस्थापन पछि महानगरले सडकलाई सफा बनाउन ब्रुमर लगाएर धुलो उठाउने र पानी लगाएर धुने काम गरिरहेको महानगरका सरसफाई शाखा प्रमुख पुनम दाहालले जानकारी दिए ।

शनिमन्दिरदेखि अस्पताल चोक र महावीर रोडलाई पार्किङ निषेधिक क्षेत्र घोषणा गरिएको छ । ‘नो पार्किङ जोन’ घोषणा गरिएको सडक पखालेर चिटिक्क पारिएको छ ।

मेयर नागेश कोइरालाको निर्देशन अनुसार सफाईलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए ।

महानगरले सरसफाईलाई कडाइ गरिएको उनले सुनाए । घर र पसल अगाडि फोहोर भेटिए सम्बन्धित घर र पसलधनीलाई कारबाही गरिने उनको भनाइ थियो ।

विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा साथ दिन महानगरवासीलाई मेयर कोइरालाले आग्रह गर्दै आएका छन् । मंगलबार महानगरले शनिमन्दिर रोड र महावीर रोड पखालेको छ ।

प्रतिक्रिया