आज सोनाम ल्होछार पर्व, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी मनाउँदै

Aadil Times 1+ समाचार ( )
८ माघ २०७९

तामाङ समुदायले आज आइतबार राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार २८५९ मनाउँदै छ । सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।

मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चाआदि जातिहरूले आआफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।

सो समुदायले आज काठमाडौंको टुँडीखेलमा महोत्सव मनाउँदै छ । महोत्सवको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम रहेको आयोजक नेपाल तामाङ घेदुङले जनाएको छ ।

तामाङ समुदायको सांस्कृतिक प्रदर्शन गरिनुका साथै सो समुदायको खानाका परिकार, भेषभुषा, हस्तकलासहित नृत्य प्रस्तुति गरिने छ । औपचारिक कार्यक्रममा सो समुदायको राजनीतिक, सामाजिक तथा सांस्कृतिक विषयमा वहस गराइनेछ ।

पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राजनीतिक दलका प्रमुखहरुले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।

प्रतिक्रिया