सुनसरी १ र उदयपुर ४ मा मतगणना रोकियो

Aadil Times 1+ समाचार ( )
११ मंगशिर २०७९

सुनसरी र उदयपुरमा मतगणना रोकिएको छ । सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यको मतगणनामा कमजोरी देखिएपछि विवाद हुँदा रोकिएको हो ।

मतगणना सञ्चालन गर्नेबारे छलफल गर्न त्यहाँसर्वदलीय बैठक बसिरहेको छ । इनरुवा नगरपालिकास्थित मगगणना स्थलमा आइतबार बिहान ८ बजेबाट सुरु भएको सर्वपक्षीय बैठकले निचोड निकाल्न नसकेपछि फेरि वैठक बसिरहेको हो ।

नेपाली कांग्रेस प्रदेश १ का सदस्य एवं सुनसरी जिल्ला तरुण दलका सभापति सिजन गुरुङका अनुसार बिहानदेखि सर्वपक्षीय बैठक बसिरहेको छ । आफ्ना माग सुनुवाई नभएसम्म गणना कार्य अघि बढाउन नहुने उनले बताए ।

६ सय ६ मतलाई गणनामा बसेका निर्वाचन कार्यालयका कर्मचारीले हेरफेर गरेपछि शनिबार दिउँसोबाट गणना रोकिएको उनले बताए ।त्यस्तो त्रुटि सुरुबाटै भएको हुन सक्ने भन्दै उनले हालसम्म गणना गरिएको सबै मत पुनः गणना गर्नुपर्ने माग गरेको बताए ।

शुक्रबार राति मत गणना गरी मिलाएर आयोगमा पठाउने र बाहिर उपस्थितलाई जानकारी गराउने क्रममा नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतको ६ सय ६ मतको फरक देखिएको थियो ।

त्यसबेला बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ८ र हरिनगर गाउँपालिकाको मतगणना भइरहेको थियो ।

मतगणनामा देखिएको फरकपनलाई गणनास्थलमा बसेका कर्मचारीले पुनः गणनाको लागि निर्वाचन अधिकृतलाई निवेदन दिएपछि घटना बाहिरिएको थियो ।

घटना सार्वजनिक भएपछि एमालेको पक्षमा जोडिएको ६ सय ६ मत निर्वाचन अधिकृतको कार्यालयले घटाएर आयोगमा पठाएको थियो ।यसबीच, निर्वाचन अधिकृतको कार्यालयले विज्ञप्ति जारी गर्दै मतगणना गर्ने अवस्था र वातावरण सहज नभएकाले गणना कार्य रोक्नुपरेको जनाएको छ ।

हालसम्मको अवस्थामा उक्त क्षेत्रमा सञ्चारमन्त्री रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको २३ हजार ४ सय ३९ मत आएको छ ।

त्यसैगरी, एमाले उम्मेदवार एवं प्रदेश १ का पूर्वमन्त्री कुसियैतको २३ हजार ३ सय ४१ मत रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा पनि मतगणना रोकिएको छ । गणनाको क्रममा पछिल्लो पटक खोलिएको १० वटा मतपेटिकामा उदयपुर १ ९ख० प्रदेश सभाको १०० मत पत्र भेटिएकोले गणना रोकिएको निर्वाचन कार्यालयले जनाएको छ ।६३ हजार ८० मत गणना भइसकेपछि थप गणनाका लागि १० वटा मतपेटिका खोल्दा प्रदेशसभाको मत भेटिएपछि दलहरुले गणना रोक्न माग गरेका थिए ।

मतगणना सुरु गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ । कुल ७६ हजार ७५६ मत खसे उदयपुर९१ मा ६३ हजार ८० मत गणना भइसकेको छ । 

प्रतिक्रिया