‘प्याब्सन विराट कप’ फुटबल प्रतियोगिता हुँदै

Aadil Times 1+ समाचार ( )
१ पौष २०७९

दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट शुक्रबारबाट सुरू हुने भएको छ । प्याब्सन विराटनगरको अयोजनामा पुस १ देखि ८ गतेसम्म विराटनगरस्थित सहिद रङगशालामा प्याब्सन विराट फुटबल टुर्नामेन्ट हुने भएको हो ।

प्रतियोगिताको उद्घाटनको पहिलो दिन दुई वटा खेल हुने भएको छ । पहिलो खेल डन बस्को र सनसाइन स्कुलबीच प्रतिस्पर्धा हुने भएको छ । सोही दिन हुने दोस्रो खेल सगरमाथा र बाल्मिकी स्कुलबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गर्नेछन् । आठ दिनसम्म संचालन हुने प्रतियोगितामा प्याब्सनमा आवद्ध ३० वटा सदस्य विद्यालयहरूका खेलाडी विद्यार्थीहरूले प्रतियोगितामा भाग लिने कार्यक्रम संयोजक नन्दलाल मण्डलले जानकारी दिए । उक्त टुर्नामेन्टमा कक्षा १० सम्म अध्ययरत १७ वर्ष मुनिका उमेर समूहका खेलाडी विद्यार्थीहरूले भाग लिनेछन् ।

प्रतियोगिता विजेताले २ लाख ५० हजार मूल्य बरावरको रनिङ्ग शिल्डसहित नगद २५ हजार रूपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले नगद १५ हजार रुपैयाँ रहेको छ । प्रतियोगिता सम्पन्न गर्न ७ लाख ६१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए । फुटबल खेलप्रति अभिरुची जगाइ खेलाडी उत्पादन गर्ने संकल्प र विश्वासका साथ प्रतियोगिता गरिएको अध्यक्ष बुढाथोकीले बताए ।फुटबलमा नयाँ आयामका लागि, प्याब्सनको सान र गौरवको लागि प्याब्सन विराट कप’ भन्ने नाराको साथ २०७६ सालदेखि प्याब्सन विराट कप गर्दै आएको उपाध्यक्ष अर्जुन श्रेष्ठले बताए । २०७७ र २०७८ सालमा विश्वभरी महामारीको रुपमा फैलिएको कोभिडको कारणले प्याब्सनले फुटबल प्रतियोगिता गर्न सकेको थिएन । 

प्रतिक्रिया