लक्ष्यअनुसार उठेन आन्तरिक राजस्व

Aadil Times 1+ समाचार ( )
१ चैत्र २०७९

चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्युन देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार फागुन मसान्तसम्ममा लक्ष्यको करिब ८० प्रतिशत मात्रै आन्तरिक राजस्व उठेको हो ।

दोस्रो चौमासिकसम्ममा विभागले ३ खर्ब ५३ अर्ब ९१ करोड ४७ लाख बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो । तर, यो अवधिको लक्ष्यको तुलनामा ७९.७८ प्रतिशत अर्थात् २ खर्ब ८१ अर्ब ९९ करोड ३० लाख मात्रै उठेको हो ।

गत आर्थिक वर्षको फागुनसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा राजस्व असुली एक प्रतिशत बिन्दुले कम हो ।

विभागले गत आवको आठ महिनामा २ खर्ब ८५ अर्ब १२ करोड २ लाख बराबर राजस्व उठाएको थियो । हालसम्म उठेको आन्तरिक राजस्वको अवस्था हेर्दा शिक्षा कर बाहेक सबै क्षेत्रमा न्युन असुली भएको छ ।

फागुन मसान्तसम्म १ खर्ब ५८ अर्ब २५ करोड चार लाख बराबर आयकर उठाउने लक्ष्य राखेको विभागले १ खर्ब १७ अर्ब ७ करोड १९ लाख मात्रै असुली गरेको छ ।

यो अवधिको आयकर लक्ष्यको ७३.९८ प्रतिशत अर्थात् लक्ष्यको तुलनामा आयकर सङ्कलन करिब १६ प्रतिशत बिन्दुले कम हो ।

मूल्य अभिवृद्धि कर (भ्याट) सङ्कलन पनि लक्ष्यभन्दा निकै न्युन छ । फागुन मसान्तसम्ममा ८२ अर्ब ४३ करोड ३८ लाख भ्याट उठाउने लक्ष्य राखिएकोमा ६८ अर्ब ७७ करोड ३८ लाख मात्रै सङ्कलन भएको छ । 

जुन असुली लक्ष्यको ८३.३२ प्रतिशत बराबर हो । त्यस्तै, गत वर्षको यही अवधिको तुलनामा आयकर सङ्कलन ३ प्रतिशत विन्दुले न्युन हो । गत वर्ष फागुन मसान्तसम्ममा विभागले ७० अर्ब ७५ करोड ८४ लाख बराबर भ्याट उठाएको थियो ।

प्रतिक्रिया