पार्किङ निषेध गर्ने अभियानमा लागेको विराटनगर महानगरपालिका : ट्राफिक प्रहरीले गरेको पार्किङ समेत हटाए
Aadil Times
1+
समाचार ( )
१३ चैत्र २०७९
विराटनगर/ मुख्य बजार क्षेत्रको सडकलाई पार्किङ निषेध गर्ने अभियानमा आक्रमक रुपमा लागेको विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीले गरेको पार्किङलाई समेत हटाएको छ ।
महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा नगर प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि सडक र फुटपाथमा ट्राफिक प्रहरीले राखेका सवारी साधनहरु हटाएको हो । ट्राफिक प्रहरी कार्यालय अगाडि सवारी पार्किङ गर्दा आवतजावतमा समस्या भएको भन्दै महानगरमा अत्यधिक गुनासो आएपछि मेयर कोइराला आफैं उपस्थित भएर पार्किङ गरेका सवारी हटाउन लगाए ।
महानगर प्रहरीसहित पुगेका मेयर कोइरालाले सडक र फुटपाथमा पार्किङ गरेका सवारीलाई तत्काल हटाउन निर्देशन दिए । सडकमा राखेका मोटरसाइकल नगर प्रहरीले हटाएको थियो भने चारचक्के सवारी साधन ट्राफिक प्रहरी आफैंले हटाएको थियो । कारबाहीमा परेका सवारी साधनलाई ट्राफिक प्रहरीले कार्यालय अगाडिको सडक र फुटपाथमा वर्षौंदेखि राख्दै आएको थियो । महानगरले मुख्य बजार क्षेत्रलाई पार्किङ निषेध गरेकाले ट्राफिक प्रहरी कार्यालय अगाडिको सडकमा पार्किङ गर्दा गलत सन्देश जाने भन्दै ट्राफिक प्रमुख सुनिलकुमार श्रेष्ठलाई मेयर कोइरालाले अबदेखि पार्किङ नगर्न आग्रह गरे ।
नियम कानुन सबैलाई बराबर लाग्ने भन्दै मेयर कोइरालाले विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा आफूहरु लागेको सुनाए । “ट्राफिकका इन्स्पेक्टर साब पनि यहीं हुनुहुन्छ । मैले उहाँलाई सडकमा सवारी नराख्न आग्रह गरिसकेको छु । अबदेखि यहाँ सर्वसाधारणले सवारी पार्किङ भएको देख्नु हुनेछैन,” मेयर कोइरालाले भने, “ट्राफिक प्रहरी कार्यालय अगाडिलाई नो पार्किङ किन नगरेको भनेर धेरैले गुनासो गर्नुभयो । कतिले त ‘सानालाई ऐन ठूलालाई चैन हो कि के हो मेयर साब’ भन्नुभयो । विराटनगरमा नियम कानुन सबैलाई बराबरी लाग्छ ।”