सोनाम ल्होछारबाट नेपाली एकता थप सुदृढ

Aadil Times 1+ समाचार ( )
७ माघ २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होछारका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनुका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने उनको विश्‍वास छ ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्होछारको अवसरमा देश–विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी, दाजुभाइ सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगत्को कल्याणका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

नेपालमा ऐतिहासिक एवं वैज्ञानिक महत्त्व बोकेका थुप्रै पर्व रहेको उनले बताएका छन्। ल्होछार पर्वको अवसरमा एक शुभकामना दिदैं प्रधानमन्त्रीले यहाँ बसोबास गर्ने सबै जातजातिको आआफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको जनाएका छन् ।

यसैबीच पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्दै यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

उनले तामाङ जातिको अत्यन्त महत्त्वपूर्ण पर्व ‘सोनाम ल्होछार’का अवसरमा शुभकामना दिँदै पर्वहरूले सामाजिक सद्भावना बढाउँदै आएको बताएका छन्। सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि रहेको उनको संदेशमा उल्लेख छ।

प्रतिक्रिया