आज इण्डोनेशियामा जी–२० राष्ट्रहरुको शिखर सम्मेलन सुरु हुँदै

Aadil Times 1+ समाचार ( )
२८ कार्तिक २०७९

विश्वका विकसित र विकासशील राष्ट्रहरुको संगठन जी–२० को शिखर सम्मेलन आज मंगलबारदेखि इण्डोनेशियाको बाली द्विपमा सुरु हुँदैछ ।

सिंगो विश्वको आर्थिक गतिविधि नियन्त्रण गर्न हैसियत राख्ने जी–२० सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रयहरुका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरु बालीमा भेला भइसकेका छन् । मंगलबार बिहान इण्डोनेशियका राष्ट्रपति जोको विडोडोले उद्घाट्न गर्दै हुनुहुन्छ । रुस–युक्रेन युद्धका कारण उत्पन्न समस्या, जलवायु परिवर्तन नियन्त्रण, विश्वब्यापी रुपमा बढेको महँगी लगायतका विषयमा नेताहरुबीच छलफल हुने कार्यक्रम रहेको छ ।

सदस्य राष्ट्रका मन्त्री स्तरीय बैठकहरुले सहमति गरेका एजेण्डाहरुमा नेताहरुले हस्ताक्षर गर्नेछन् । सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिन भने उपस्थित हुनुहुन्न । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच इण्डोनेशियाको बालीमा ३ घण्टा लामो ऐतिहासिक शिखर वार्ता भएको छ ।

जी–२० सम्मेलनका लागि बाली पुग्नुभएका बाइडेन र सीबीच महत्वपूर्ण छलफल भएको छ । दुई नेताबीच आपसी तनावमा मथ्थर गर्दै अघि बढ्ने सहमति भएको छ । बैठकपछि अमेरिकी राष्ट्रपति बाइडेनले चीनसँग अर्को शीतयुद्ध चल्न नदिने प्रतिवद्धता जनाउनुभयो । ‘हाम्रा मतभेदलाई व्यवस्थापन गर्न, प्रतिस्पर्धालाई द्वन्द्वमा परिणत हुनबाट रोक्न हामी सक्षम छौं भन्ने सन्देश उहाँले दिनुभएको छ ।

चिनियाँ राष्ट्रपति सी ले भने अमेरिका–चीन सम्बन्धको आधार ताइवान हो भन्दै ताइवानमा रेडलाईन पार नगर्न अमेरिकालाई चेतावनी दिनुभयो । सीले तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि अमेरिकी राष्ट्रपति बाइडेनसँग पहिलो पटक प्रत्यक्ष भेट भएको हो ।

प्रतिक्रिया