रेखा भन्छिन्, ‘छोरानातिलाई खाडी पठाएर कहिलेसम्म पार्टी बचाउने ?’

Aadil Times 1+ समाचार ( )
२५ कार्तिक २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मोरङ–३ मा प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहेकी रेखा थापाले पार्टी बचाउन कहिलेसम्म छोरा नातिलाई खाडी पठाउने भन्दै मतदातालाई प्रश्न गरेकी छन् ।

घरदैलो कार्यक्रमको २५ औँ दिन शुक्रबार बेलबारी २ पुगेर यस्तो प्रश्न गरेकी हुन् । ‘पार्टी पार्टी भनेर कति त्यही पार्टीसँग सती जानुहुन्छ? आफ्नो घर बिग्रेको थाहा छैन, छोरा नातिलाई खाडी पठायो अनि मेरो महान् पार्टी फलानो भन्यो दौडियो । आफ्नो सन्तान बचाउन नसक्ने तपाईंको महान् पार्टी कहिलेसम्म जोगाइदिने ? कसका लागि जोगाइदिने ? अब पनि बुझ्नुभएन भने के राजनीति गर्नुहुन्छ ?’

थापाले युवा पुस्तालाई नेताको पछाडि नदौडिन आग्रह गरेकी छन् । भ्रष्ट नियत भएका नेताको पछि दौडिएर युवा पुस्ताले आफ्नो समय वरवाद गर्न नहुनेमा उनले जोड दिएकी छन् ।

उनले भनिन् ‘म मेरा दाजुभाइहरूलाई अनुरोध गर्छु । कुनै नेताको पछाडि जिन्दावाद र मूर्दावाद भन्दै नदौडिनुहोला । आज जुन नेताको पछि दौडनु हुन्छ ती नेता ठाउँमा पुग्लान् तर चुनाव सकिएको २–४ दिन पनि बित्न नपाउँदै मेरा दाजुभाइ कुन खाडी मुलुक पुग्ने हो थाहा छैन ।’

उनले युवाहरूलाई केही काम नभए घरमा आमा श्रीमतीलाई काम सघाउन आग्रह गरेकी छन् । उनले भनिन् ‘काम सघाउँदा बरु आमा त खुसी हुन्छिन् । त्यो तपाईंको मत किनेर गएको नेताले जितेको भोलिपल्ट तपाईंलाई चिन्दैन । के को लागि हिँड्ने जिन्दावाद, जिन्दावाद गर्दै ?’

थापाले आफू नेता बन्नको लागि राजनीतिमा नलागेको जिकिर पनि गरेकी छन् । जनताले अनुमोदन गरे जनप्रतिनिधिको परिभाषा ५ वर्षमा परिवर्तन गरेर देखाउने बताएकी छन् ।

उनले भनिन् ‘जनता र जनप्रतिनिधि बीचको खाडल भर्न आएकी हुँ । ५ वर्षमा मैले गरेको काम देखेर चित्त बुझ्यो भने त्यो बेला मलाई नेता मान्नु । अहिले म नितान्त तपाईंहरूको सेवक बन्न आएकी हुँ । ममाथि मत लगानी गरेर मलाई सेवा गर्ने अनुमती दिनुहोस् भन्न आएको हुँ ।’

नेपाली जनताले धेरै पटक पार्टी जोगाएको र अब परिवर्तनका लागि युवा पुस्ताको जोस जाँगर जोगाउनेमा आफू विश्वस्त रहेको थापाले बताइन् ।

उनले मोरङ ३ परिवर्तनको पक्षमा रहेकाले आफ्नो जित सुनिश्चित रहेको दाबी पनि गरेकी छन् । थापालाई महिला, नयाँ मतदाता र सुकुम्वासीहरूको बलियो साथ छ ।

प्रतिक्रिया