सन्दीप लामिछानेलाई यूएई लैजान क्यानको पहल

Aadil Times 1+ समाचार ( )
१० फाल्गुन २०७९

घरेलु मैदानमा आयोजित त्रिकोणात्मक श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका स्पिनर सन्दीप लामिछानेलाई नेपाली टीमको यूएई भ्रमणमा समावेश गर्न नेपाल क्रिकेट संघ (क्यान) ले पहल थालेको छ ।

नेपाली खेलकुदको सर्वोच्च निकायका रूपमा रहेको राष्ट्रिय खेलकुद परिषदमार्फत क्यानले प्रक्रिया अघि बढाएको हो ।

क्यानका म्यानेजर विनोद दासले यूएईमा हुने श्रृंखलामा सन्दीपको उपस्थिति नेपालका लागि अति आवश्यक भएकाले क्यानले गृहकार्य गरिरहेको बताए । यस विषयमा राष्ट्रिय खेलकुद परिषदलाई लिखित पत्राचार गरिएको उनले जानकारी दिए ।

‘हामी राखेपअन्तर्गतका निकाय हौं, त्यसैले अदालतसँग सीधै हामीले एप्रोच गर्नुभन्दा राखेपमार्फत जानु उचित हुन्छ भनेर त्यहाँ पत्राचार गरिएको हो,’ दासले भने ।

क्यानका महाप्रबन्धक वृतान्त खनालले हस्ताक्षर गरेको पत्र हालै राष्ट्रिय खेलकुद परिषदमा पठाइएको छ । उक्त पत्रमा सन्दीपलाई राष्ट्रिय टीमबाट विदेश भ्रमणका लागि अदालतसँग अनुमति माग्न राखेपलाई अनुरोध गरिएको छ ।

‘हामी सन्दीपलाई टीममा समावेश गर्न आफ्नोतर्फबाट सबै पहल गर्नेछौं, तर देशको कानूनी प्रक्रिया र अदालतको सम्मान गरेर जानुपर्ने भएकाले के हुन्छ भन्न सकिने अवस्था छैन,’ उनले भने ।

क्यानको पत्रका विषयमा परिषदले के गरिरहेको छ भन्ने जानकारी आइनसकेको दासको भनाइ छ । नेपाल प्रेसले यस विषयमा बुझ्न खोज्दा परिषदका सदस्यसचिव टंकलाल घिसिङले आफू व्यस्त रहेकाले कुरा गर्न नसक्ने बताए ।

प्रतिक्रिया