नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
>
आज बुटवलमा पत्रकारसँग कुरा गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । “जनमतका हिसाबले एमाले ठूलो पार्टी हो तर श्रेष्ठताका हिसाबले दोस्रो भएका छौँ त्यसैले हामी सरकारमा जाँदैनौँ”, उहाँले भन्नुभयो ।
>
सरकारबारेको प्रश्नमा पार्टीले कुनै पनि दलसँग छलफल नगरेको स्पष्ट पार्दै नेता पौडेलले बहुमत नपुगेपछि त्यसका लागि कुनै पहलकदमी नलिएको बताउनुभयो ।
>
सरकार दल विशेषको नहुने जनाउँदै रुपन्देही क्षेत्र नं २ का प्रतिनिधीसभा सदस्य समेत रहनुभएका पौडेलले एमालेको नेतृत्वमा सरकार बन्नु र नबन्नुले रुपन्देहीको विकासलाई असर नगर्ने उल्लेख गर्नुभयो । “जसको नेतृत्वमा सरकार बने पनि हामी रुपन्देहीको विकासलाइ रोकिन दिँदैनौँ, सुरु भएका योजना पूरा गरेर छोड्छौँ”, उहाँले भन्नुभयो ।
>>