मतदाता भन्छन्, ‘पार्टीगत आस्था र विचारभन्दा माथि उठेर मतदान गर्छौं’

Aadil Times 1+ समाचार ( )
२५ कार्तिक २०७९

विराटनगर । मोरङ सुन्दरहरैंचाकी बुधमाया प्रधानले २०४६ सालको परिवर्तनपछि कतिपटक भोट दिइन्, सम्झना छैन । कतिपटक भन्ने थाहा नभए पनि कसलाई भोट दिएको भन्नेचाहिँ उनलाई याद छ ।पहिले अरु नै पार्टीका उम्मेदवारलाई सघाउँदै आएकी ६३ वर्षीया प्रधानको यसपटक भने मनस्थिति बदलिएको छ । उनले यसपटक फरक पार्टीका नेतालाई भोट हाल्ने निर्णयमा पुगेकी छन् ।

‘पार्टीभन्दा व्यक्ति हेर्नुपर्ने रहेछ, पार्टी हेरेकै कारण मुलुक अगाडि बढ्न नसकेको हो,’ आमा समूहमा समेत आबद्ध प्रधान भन्छिन्, ‘यस पटकको निर्वाचनमा हामी गाउँका धेरैले डा. शेखर कोइरालालाई भोट हाल्ने मनस्थितिमा पुगेका छौं ।’

यसअघिको निर्वाचनमा विजयी भएका लालबाबु पण्डित फर्किएर एकपटक पनि नआएको उनको दुखेसो छ । चुनावको बेला पण्डित तीनपटक भेट्न आएको उनले स्मरण गरिन् । शेखर कोइरालासित पूर्वेली जनताको थुप्रै आशा र भरोसा भएका कारण जित्नै पर्ने प्रधानको भनाइ छ ।

उनी भन्छिन्, ‘यदि शेखर कोइरालाले पनि जितेर गएपछि जनताका लागि केही गर्नु भएन भने अर्को निर्वाचनमा हामी भोट हाल्दैनौं ।’प्रधानको जस्तै धारणा छ, बूढीगंगा गाउँपालिकाका ७२ वर्षीय रुद्रबहादुर कटवालको पनि । खोटाङबाट बसाइँ सरेर १५ वर्षअघि झरेका उनले एकपटक कांग्रेसलाई भोट दिएका रहेछन् ।

यस बाहेकको निर्वाचनमा वामपन्थी उम्मेदवारलाई मात्रै भोट खसालेको कटवालको भनाइ छ । अघिल्लो निर्वाचनमा दुई तिहाई नजिकको बहुमत दिँदा पनि एमालेले केही नगरेको उनको दुखेसो छ ।

उनी हाम्रा भन्दा राम्रा व्यक्तिलाई जिताउन आग्रह गर्दछन् । ‘शेखरजीमा ठूलो हिम्मत छ भन्ने मैले बुझेको छु,’ कटवालले भने, ‘पाँच–पाँच पटक प्रधानमन्त्री भएका शेरबहादुर देउवालाई उहाँले टक्कर दिनुभएको छ । पूर्व अझ मोरङको पहिलाको राजनैतिक शाख फिर्काउन पनि शेखरजीले जित्नु जरुरी छ ।’

बूढीगंगाकै ६६ वर्षीय माणिकंचन चौधरीले पनि कोइरालालाई भोट हाल्ने मनस्थितिमा पुगेका छन् । हाल उनी जसपामा आबद्ध छन् । मधेस आन्दोलनअघि उनी नेकपा एमालेका आबद्ध थिए । सबै जातजाति, धर्म र सम्प्रदायका मानिसलाई जोड्ने पार्टी कांग्रेस रहेछ भन्ने निष्कर्षमा उनी पुगेका छन् ।

यसपटक शेखरलाई जिताउने अभियानमा जुटेका छन् । मधेसवादी दलहरु सबै सत्ता र शक्तिको पछाडि लागेकोमा उनको दुखेसो छ ।‘मोरङ–६ मा यसपटक शेखर कोइरालाले जित्नुपर्छ भन्ने मेरो विचार छ,’ उनले भने, ’उहाँले जित्नु भयो भने मोरङमात्रै होइन पूर्वकै लागि केही गर्नुहुन्छ जस्तो लाग्छ मलाई ।’


प्रतिक्रिया