विराट गोल्डकपको तयारी हुँदै

Aadil Times 1+ समाचार ( )
२८ माघ २०७९

 आगामी चैत ९ गतेदेखि आयोजना हुने विराट गोल्डकपको तयारी तीव्र पारिएको छ । विराटनगरको शहीद रंगशालामा हुने गोल्डकपका लागि रंगशाला मर्मत भइरहेको छ ।

फ्लड लाइट जडान भएको रंगशालामा रात्रिकालीन फुटबल प्रतियोगिता हुनेछ । त्यसका लागि मैदानको सबलीकरण भइरहेको प्रतियोगिताका सहसंयोजक शुभाशिष कोइरालाले बताए ।

नेपाली र विदेशी टिमको सहभागितामा हुने प्रतियोगिता भव्य बनाउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । यद्यपि कुन–कुन टिमले सहभागिता जनाउने भन्ने अन्तिम नाम प्रकाशन भइसकेको छैन । कोइरालाले सम्झौतामा हस्ताक्षर भएपछि सहभागी टिमको नाम सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

हालसम्म रंगशालाको मैदान मर्मतदेखि प्यारापिटमा फलामको रेलिङ जडान गर्ने काम भइरहेको कोइरालाले बताए । अघिल्ला संस्करणभन्दा भिन्न योपटक विद्यालयका युवा विद्यार्थीहरूलाई विराट गोल्डकपको इतिहासको जानकारी दिने उद्देश्यसहित गोल्डकप आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न २ करोड ५० लाख खर्च लाग्ने आयोजकको भनाइ छ ।

चैत ६ गतेदेखि प्रतियोगिता आयोजना गर्ने गरी आयोजकले तयारी अघि बढाएपनि अखिल नेपाल फुटबल संघ एन्फाले ‘ए’ डिभिजन लिग आयोजना गर्न लागेकाले प्रतियोगिता ३ दिन पर सरेको हो । गोल्डकप चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने कुरा आयोजकले जनाएको छ ।

प्रतिक्रिया