प्रदेश नं.१ को संरचना मोरङको डंग्राहामा बनाउने महानगरको प्रस्ताब

Aadil Times 1+ समाचार ( )
१९ पौष २०७९

विराटनगर महानगरपालिकाले नगरबासीको भावना विपरीत प्रदेश संरचनालाई महानगर बाहिर लैजाने गरी प्रदेश सरकारलाई जग्गा उपलब्ध गराउने प्रस्ताव गरेको छ । विराटनगर महानगरपालिकाको कार्यपालिका बैठकले प्रदेश राजधानीका लागि आवश्यक संरचना निर्माण गर्न भन्दै अर्कै स्थानीय तहमा रहेको जग्गा उपलब्ध गराउने प्रस्ताव गरेको हो ।

महानगरले मोरङको बुढीगंगा गाउँपालिका ६ डंग्राहामा महानगरको नाममा रहेको २७ बिघा मध्ये ५ बिघा जग्गा दिन सकिने निर्णय गरेको हो । महानगर कार्यपालिकाको असोज १२ गते बसेको बैठकले प्रदेशका संरचनाहरु निर्माण गर्न जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । महानगरको कार्यापालिका बैठकमा प्रदेश मन्त्री क्वार्टर निर्माणका लागि जग्गा व्यवस्थापन सम्बन्धमा भन्ने प्रस्ताव गरिएको थियो । 

प्रस्तावमा मन्त्री क्वार्टरका लागि जग्गा व्यवस्थापन भनिएपनि निर्णय गर्दा प्रदेशको कार्यपालिका, व्यवस्थापिका र प्रदेश प्रमुखको कार्यालय समेत निर्माण गर्नका लागि जग्गा उपलब्ध गराउने स्पष्ट लेखिएको छ ।

कार्यपालिका बैठकको निर्णयमा भनिएको छ ‘बृहत् विराट क्षेत्रभित्र प्रदेशको कार्यपालिका र व्यवस्थापिका, प्रदेश प्रमुखको कार्यालय, तथा निवास, सभामुख तथा उपसभामुखको निवास, मन्त्री निवास लगायतका संरचनाहरु एकीकृत रुपमा निर्माण गर्नका लागि निःशुल्क जग्गा उपलब्ध गराउने सम्बन्धी प्रदेश नं.१ सरकारबाट सार्वजनिक सूचना प्रकाशित भएकोले सोका लागि विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको डंग्राहा स्थित जग्गा मध्येबाट ५–०–० (बिघा) जग्गा उपलब्ध गराउने गरी प्रदेश नं. १ सरकारलाई प्रस्ताव गर्ने निर्णय गरियो ।’

महानगरको यो निर्णय प्रदेश सरकारले स्वीकार गरेको अवस्थामा प्रदेश १ को राजधानीको संरचना डंग्राहा क्षेत्रमा बन्ने देखिएको छ । त्यस अघि विराटनगर महानगरपालिकाले विराटनगर महानगरपालिका क्षेत्रभित्र रहेको विभिन्न सरकारी जमिन तथा भवनहरु प्रदेश सरकारले मन्त्रालय तथा आवास प्रयोजनमा प्रयोग गर्न सक्ने प्रस्ताव गरेको थियो । तर, पछिल्लो पटक कार्यपालिका बैठकबाटै निर्णय गराएर बुढिंगंगा गाउँपालिकाको उत्तरी क्षेत्रमा रहेको महानगरेको जग्गा प्रस्ताव गरेको हो ।

प्रदेश सरकारले जग्गा व्यवस्थापन भएसँगै सुव्यवस्थित प्रदेशसभा बैठक सञ्चालन गर्ने सभाहल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश प्रमुखको कार्यालय, मन्त्रालयहरु तथा ती सबैका पदाधिकारीहरुको आवास भवन निर्माण कार्य अघि बढाउने तयारी गरिरहेको छ ।

विराटनगरबासीले ठूलो दबाब सिर्जना गरेपछि मात्र प्रदेश १ को राजधानी विराटनगर घोषणा गर्ने वातावरण बनेको थियो । तत्कालीन समयमा प्रदेशको राजधानी विराटनगर बाहिर लैजाने प्रयत्नका कारण सरकारले बृहद विराटनगर सम्बन्धी छुट्टै कानुन नै प्रदेशसभाबाट पारित गराएको थियो ।

विराटनगर बाहेक इटहरी, सुन्दरहरैंचा र धनकुटाले राजधानी तोक्न दबाब दिइरहेको थियो भने विराटनगरमा राजधानी माग्दै जनताहरु बन्द हड्ताल र प्रदर्शनमा उत्रिएका थिए । दलहरुबीच राजधानी तोक्ने विषयमा लामो छलफलपछि सहमतिको वातावरण बनेको थियो । 

तत्कालीन समयमा प्रमुख संरचना सहित विराटनगर राजधानी बनाउने र केही संरचना बृहत विराटनगर क्षेत्रभित्र स्थापना गर्ने प्रस्तावमा दलहरु सहमत थिए । सोही सहमति पछि प्रदेशसभाले २०७६ साल वैशाख २३ गते सोमबार विराटनगरलाई प्रदेशको राजधानी तोकेको थियो ।

प्रदेशको राजधानी तोकिएको साढें २ वर्ष बितिसक्दा पनि प्रदेश सरकारले प्रदेशका संरचनाहरु निर्माणको काम अगाडि बढाउन सकेको छैन । त्यतिमात्र होइन प्रदेश सरकारले बृहत् विराटनगरको अवधारणालाई कानुनी स्वरुप दिँदै त्यस क्षेत्रभित्र जहाँसुकै संरचना बनाउन सकिने बाटो खोलिदिएका कारण जग्गा व्यवस्थापनको काम नै जटिल बन्न पुगेको छ ।


प्रतिक्रिया