आगोले खोस्यो घरबास

Aadil Times 1+ समाचार ( )
३० फाल्गुन २०७९

लालीगुराँस नगरपालिका–६ सुङनामकी ४६ वर्षीया रनमाया तामाङ सोमबार बिहान जलेर खरानी भएको घरअगाडि टोलाइरहेकी थिइन् । घर अगाडिको बारीको पाटामा दुई छोरा बसेर त्यही जलेको घर हेरिरहेका थिए । आइतबार आगोले ध्वस्त घरबाट सोमबार बिहानसम्म पनि धुँवा आइरहेको थियो ।

उनका श्रीमान् पञ्चबहादुर तामाङ घुँडा दुख्ने समस्या भएपछि उपचार गराउन घरमा आगो लागेको शनिबार बिहान धरान गएका थिए । आइतबार घरसहित सम्पूर्ण सम्पत्ति जलेर खरानी भयो । उनी उपचारमै छन् । घर फर्किन सकेका छैनन् । फर्किएर पनि उनी बास बस्ने घर छैन । फुसको छाना हटाएर जस्तापाता लगाउन बाख्रा र गोरु बिक्री गरेर जम्मा गरेको ६० हजार रुपैयाँ पनि जलेर खरानी भयो ।

केही दिनअघि मात्र लालीगुराँस नगरपालिकाले जस्तापाता लगाउन दिएको ३० हजार रुपैयाँ पनि कन्तुरमै जल्यो । गाउँलाई घेरेको भालुखोप सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा तामाङसहित अन्य १४ वटा घर जलेर नष्ट भएका छन् । आगलागीमा परी तामाङको ८ लाख रुपैयाँबराबरको क्षति भएको छ । शनिबार अपरान्ह गाउँको पुछारमा रहेको जंगलमा देखिएको आगो गाउँले भेला भएर निभाउने प्रयास गर्दागर्दै बस्तीमा पसेपछि धेरै क्षति भएको स्थानीय चेतबहादुर घिमिरेले बताए ।

आगलागीमा घर, लत्ताकपडा, खाने अन्नलगायतका सम्पत्ति सबै जलेपछि पीडित अहिले बारीको भित्तामा खुला आकाशमुनि रात काटिरहेका छन् । धेरैजसो छिमेकी बसाइँ गएका र भएकाहरुको पनि आगोले घर जलेपछि पीडितलाई बास बस्नेसमेत ठाउँ छैन । सुख्खाक्षेत्र रहेको यो गाउँमा पिउने पानीको समेत अभाव छ । टाढाबाट ल्याइएको खानेपानीको पाइप पनि जंगलमा लागेको आगोले जलेपछि गाउँमा पिउने पानीसमेत छैन । आगोमै परेर बिजुलीको तार जलेपछि गाउँ अन्धकार छ । जंगल र घरगोठ जल्दाको खरानी उडेर गाउँभर फैलिएको छ । आगोको राप र खरानीको धुलोले केही पीडित बिरामी पर्न थालेका छन् । जीवनभर जोडेको सम्पत्ति जलेर खरानी भएपछि उनीहरू पीडामा छन् ।

प्रतिक्रिया