भ्रष्टाचारका सबै प्रकरणको अनुसन्धान गर्ने : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

Aadil Times 1+ समाचार ( )
२ जेठ २०८०

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारका सबै प्रकरणको अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सरकारले सुशासनलाई केन्द्रविन्दुमा राखेर काम गर्ने पनि बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान जारी रहेको उनले जानकारी दिए । यो मात्र नभई भ्रष्टाचारका सबै प्रकरणको अनुसन्धान हुने उनले जिकिर गरे । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको समय निकै कम भएकाले प्रहरी प्रशासनले तीव्र रूपमा काम गरिरहेको उनको भनाइ छ । प्रहरीलाई राजनीतिक दबाब वा अवाञ्छनीय प्रभावबाट मुक्त भएर अनुसन्धान गर्न निर्देशन दिइएको उनले बताए । निर्दोष नफस्ने र दोषी नछुट्ने गरी प्रहरीले निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाएको उनले उल्लेख गरे । हमन्त्री श्रेष्ठले प्रमाणका आधारमा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाले सो आधारमा कारबाहीको दायरा बढाउने सरकारको प्रतिबद्धता रहेको बताए । सरकार कुनै दबाबको अगाडि नझुक्ने उनले स्पष्ट पारे ।

भ्रष्टाचार र कमिसनको जालोले देशलाई बरबाद पारेको भन्दै उनले राज्यका सबै निकायले यसलाई केन्द्रमा राखेर समाधान गर्नुपर्नेमा जोड दिए । बैठकमा नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले दोषी नछुट्ने र निर्दोष नफस्ने वबषयमा सबै सजक रहेको बताए । सरकारले गरेको अनुसन्धानमा सबैको साथ रहेको उनले उल्लेख गरे ।

बैठकमा समिति सदस्यहरूले यसको काम–कारबाहीलाई प्रभावकारी बनाउनुपर्ने र दिएका निर्देशन तथा सुझावलाई सरकारले कार्यान्वयन गर्नुपर्ने धारणा राखेका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठले समितिले दिएका सुझावलाई सरकारले गम्भीर रूपमा लिएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया