‘हाम्रा दुःख बुझिदिने नेता को होला ?’

Aadil Times 1+ समाचार ( )
छोराछोरीको भविष्य सुनौलो पार्ने सपना बोकेका...
२६ कार्तिक २०७९

विराटनगर । विराटनगर महानगर वडा नम्वर १२ का श्याम साह ‘रड मिस्त्री’ हुन् । उनले विराटनगरका थुप्रै भवन खडा गर्न आफ्नो पसिना बगाएका छन् । आफ्नै घर भने फुसको छ । चार दशकदेखि रड बाँध्ने काम गर्दै गुजारा गरिरहेका उनको परिवारमा पाँचजना सदस्य छन् । परिवार सानो छँदा उनलाई जीविकोपार्जनमा उति समस्या थिएन । तर छोराछोरी हुर्किँदै जाँदा समस्या थपिएको उनको भनाइ छ ।

कक्षा ५ सम्म सरकारी विद्यालयमा पढेका श्याम अहिलेका सरकारी विद्यालयका परिस्थिति हेरीकन आफूले झैँ छोरा–छोरीले दुःख भोग्नु नपरोस् भनेर तिनलाई बोर्डिङमा पढाउने गरेका छन् । सरकारी स्कुलमा पढाई कहाँ हुन्छ र, सरहरु एक त आफैँ ढिला आउँँछन्, अनि नेताहरुलाई कुनै सभा, भेला आयोजना गर्नु परे पहिले रोजाईनै सरकारी विद्यालय हुन्छ ।

उनले त्यही वडाको अरुणोदय माध्यामिक र वडा ११ स्थित जनपथ माविमा धेरैपटक त्यस्ता कार्यक्रम भएको देखेका छन् । जसले गर्दा पढाइ प्रभावित हुने गरेको छ । छोराछोरीको भविष्य सुनौलो पार्ने सपना बोकेका श्याम दिनरात खटिरहेका हुन्छन् । मासिक २० हजार रुपैयाँ कमाउने श्यामको खर्च छोराछोरी पढाउँदा, घर चलाउँदा ठिक्क हुने गरेको छ । बचत हुँदैन ।

छोराछोरीका लागि सकेजति कुरा जुटाइदिँदा आफ्नोबारे भने खासै केही गर्ने सोच्न पनि पाउँदैनन् । मैले नयाँ लुगा नकिनेको ३ वर्ष भयो, नानीहरुका लागि कपडा, विद्यालयका पोशाक, नयाँ पुस्तक किन्नै धौ–धौ हुन्छ । कहिलेकाहीँ परिवारका कोही बिरामी पर्दाको अवस्थामा उपचारका लागि खर्च गर्ने पैसाको अभाव उनले खेप्ने गरेका छन् ।

‘राम्रो जनप्रतिनिधि निर्वाचित भए हामी जस्ता गरिब मजदुरको अवस्था अवश्य बुझ्लान् भन्ने आशा छ’ उनले भने, राम्रा व्यक्तिलाई भोट दिनुपर्छ जस्तो लाग्छ ।

अघिल्लो चुनावमा जितेर गएका जनप्रतितिधिहरुले आफ्नो गाउँघरका केही समस्या समाधानका पहल गरे पनि पर्याप्त काम गर्न नसकेको बताए ।

टोलमा नाला निर्माण गरिएको भए पनि त्यो लामो समय टिक्न सकेन । कमसल सामान प्रयोग गरेर बनाइएकाले केही समयपछि नै भत्किएको उनले सुनाए । चुनावका बेला प्रतिबद्धता गरेजस्तो नेता र उम्मेदवारहरुले काम नगरेको देख्दा उनलाई दुःख लाग्छ ।

कमसे कम सरकारी विद्यालयहरुमा गुणस्तरीय पढाइको व्यवस्था गरे विपन्न समुदायका बालबालिकाले राम्रो शिक्षादीक्षा पाउने उनको भनाइ छ । नेताहरुले आफ्नो सन्तानका लागि मात्र होइन, आफ्नो क्षेत्रका सबैलाई समान हिसाबले हेर्नुपर्ने हो’ उनले भने, ‘तर त्यस्तो महान् सोच भएको नेता हामीले कहिले पाउने हो ?’

प्रतिक्रिया