लोसपाका केन्द्रीय नेता सहित सयौं नेता जसपामा प्रवेश II LIVE NEWS RAFTAR II

Aadil Times 1+ समाचार ( )
६ कार्तिक २०७९

 शुभ नारायण यादव / सप्तरी , ७ कार्तिक । 

चुनावी सरगर्मी बढिरहँदा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका केन्द्रीय नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गर्ने क्रम बढेको छ । चुनावी गठबन्धनमा पार्टीले थोरै सीटमा तालमेल गरेका कारण असन्तुष्ट नेता तथा कार्यकर्ताहरु धमाधम पार्टी परित्याग गर्न थालेका हुन् । यसअघि छिटफुट रुपमा पार्टी परित्याग गर्दै आए पनि सप्तरीको राजविराजमा आयोजित एक कार्यक्रमका बीच केन्द्र तथा जिल्लाका प्रभावशाली नेताहरु लोसपा परित्याग गर्दै जसपामा प्रवेश गरेका छन् ।  लोसपाका केन्द्रीय नेता शैलेश कुमार चौधरी, केन्द्रीय नेता एवम् मधेश बाहिनी रक्षा दलको पुर्व अध्यक्ष विनोद कुमार यादव, केन्द्रीय सदस्य पूनम यादव लगायतका दर्जनौं नेता तथा कार्यकर्ताहरु जसपामा प्रवेश गरेका छन् । यसैगरी सप्तरी उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष शंकर दास, नेकपा एसको प्रदेश सचिवालय सदस्य अरुण देव लगायतका नेताहरु जसपामा प्रवेश गरेको जिल्ला अध्यक्ष केदार यादवले जानकारी दिए । नव प्रवेशी पुनम यादवको नाम लोसपाले समानुपातिक सूचीमा समेत नाम १४औं नम्बरमा सिफारिस गरेको छ । नेता चौधरी, बिनोद र पूनम मधेशमुक्ति आन्दोलनका चर्चित अनुहार हुन् । चौधरी राजविराज नगरपालिकाका पूर्व मेयर समेत हुन् ।नव प्रवेशीहरुलाई जसपा अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय नेता एवम् राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, पार्टीका प्रवक्ता मनिष सुमन लगायतले स्वागत गरेका छन् । मधेश केन्द्रित शक्तिहरुसँग चुनावी तालमेल नगरी केही नेताहरुले व्यक्तिगत स्वार्थका कारण प्रलोभनमा परि थोरै सीटमा सम्झौता गरेर पार्टीलाई नै सिध्याउने काम गरेको नवप्रवेशीहरुको आरोप छ । अन्य पार्टीहरुबाट जसपा प्रवेश गर्ने लहरका कारण जसपा शक्तिशाली बन्दै गएको छ ।सप्तरी २ बाट प्रतिनिधि सदस्यमा उम्मेदवारी दिएका जसपा अध्यक्ष यादवले सप्तरीमा कार्यकर्ता भेला, भेंटघाट, छलफल तथा पार्टी प्रवेश कार्यक्रमलाई तिब्रता दिएका छन् । प्रतिनीधि सभा सदस्यमा मा निर्वाचित भएपछि नर्सिङ्ग कलेज, इन्जिनियरिङ्ग कलेज, रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय सय शैय्याको अस्पताललाई ४ सय २० बेडको सुविधा सम्पन्न अस्पताल, सडक सञ्जाल विस्तार, विद्यालय भवन निर्माण लगायत विभिन्न ४२ ओटा कामहरु गरेका छन् । तीमध्ये केही काम पुरा पनि भईसकेको छ भने बाँकी निर्माणका क्रममा रहेका छन् । सप्तरीको कायापलट गर्ने सङ्कल्पका साथ महत्वपूर्ण योजनाहरु अगाडि बढाएका कारण जसपा अध्यक्ष उपेन्द्र यादवको पक्षमा माहोल बन्दै गएको छ । यस अघि लोसपाबाटै तिलाठी कोइलाडीका पूर्व मेयर समेत रहेका युवा नेता सतिश कुमार सिंहको नेतृत्वमा केही नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरेका थिए । उनी जनमत पार्टीबाट प्रदेश सभा सदस्यमा सप्तरी २ क बाट उम्मेदबार बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार