हुलाकी राजमार्ग क्षेत्रको काम शुरु गर्न मोरङका १४ जनप्रतिनिधिहरुलाई सात दिनको अल्टिमेटम

Aadil Times 1+ समाचार ( )
२१ वैशाख २०८०

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्वपश्चिम हुलाकी सडकखण्ड अन्र्तगत मोरङ क्षेत्रको सडक निर्माणमा भएको ढिलासुस्ती विरुद्ध तीनवटै तहका १४ जना जनप्रतिनिधिहरु निर्माण कम्पनीलाई सात दिनको अल्टिमेटम दिएका छन् ।

मोरङको कटहरी देखि रतुवामाई सम्मको क्षेत्रमा रोकिएको निर्माण कार्य तत्काल शुरु नगरे हुलाकी सडक क्षेत्रमा दबाब मुलक कार्यक्रम गर्ने उनीहरुको चेतावनी छ ।

मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल, क्षेत्र नम्बर ५ का योगेन्द्र मण्डल, प्रदेश सांसद गणेश उप्रेती, लिलाबल्लभ अधिकारी, जयप्रकाश चौधरी, भीम पराजुली, गयानन्द मण्डल, अमृत अर्याल, रतुवामाई नगरपालिका प्रमुख नागेश्वर सिंह, सुनवर्षीका प्रमुख श्याम राजवंशी, रंगेली पालिका प्रमुख दिलिप बगडिया, धनपालथान गाउँपालिका अध्यक्ष जिवछ गच्छदार र कटहरीका अध्यक्ष देवराज चौधरी, जहदा अध्यक्ष जितेन्द्र साहले आज संयुक्त पत्रकार सम्मेलन गरि ७ दिने अल्टिमेटम दिएका हुन ।

हुलाकी सडकको करिब २० किलोमिटर क्षेत्रमा ठेकेदारले काम अलपत्र पारेको भन्दै उनीहरुले सात दिन भित्र काम सुरु नगरे दबाव आन्दोलन थाल्ने चेतावनी दिए ।

आ.व. २०६५–६६ मा शुरु भई आ.व. २०७४–७५ मा सम्पन्न हुने प्रारम्भिक अनुमान गरिएकोमा संशोधित कार्यतालिका अनुसार आ.व. २०७७–७८ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको थियो ।

शंशोधित कार्यतालिका भित्रमा पनि सडक निर्माण सम्पन्न नभएको र काममा ढिलासुस्ती भएपछि निर्माण पक्षलाई ७ दिनको अल्टिमेटम दिएको मोरङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य तथा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले बताए । 

पोखरेलले भने,‘ सडक नजिकका बासिन्दालाई धुलोका कारण खान, वस्न पनि समस्या भएको छ ।’ एक महिना देखि सडक निर्माणको कार्य बन्द भएको उहाँले बताउनुभयो । वर्षा शुरुहुन साथ सडक बन्द हुने अवस्था रहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो,‘ निर्माण कार्य तत्काल शुरु नहुने हो भने बर्षा शुरु हुनासाथ सडक बन्द हुन्छ ।’

प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले सार्वजनिक खरिद ऐन संशोधन नभएसम्म निर्माणका काम समयमा कहिल्यै नसकीने बताए । थोरै लागतमा निर्माण कार्य दिने प्रणाली संशोधनको माग गर्नुभयो । उहाँले भन्नुभयो,‘ सार्वजनिक खरिद ऐन शंसोधन नभएसम्म निर्माणको काम यस्तै हुने छ ।’

सडक निर्माण कार्य तत्काल शुरु नगरे सडक बन्द गरिदिने रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवालले चेतावनी दिनुभयो । उहाँले भन्नुभयो,‘ बाटो बन्द नभएसम्म प्रशासन पनि नतात्ने रहेछ ।’ जनप्रतिनिधिहरुले आजै मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवको पनि ध्यानाकर्षण गराएका छन् ।

पूर्व पश्चिम हुँदै तराईका वस्तीहरूमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्य लिएको हुलाकी लोकमार्ग आयोजनाले पूर्वमा झापा केचनादेखि पश्चिममा कंचनपुर दोधारा चाँदनीसम्मको भू–भागलाई जोड्ने छ ।

यस आयोजनाको कूल लागत अनुमान करिव ४७२७ करोड रहेको छ । नेपाल सरकार तथा भारत सरकारबाट प्राप्त हुने अनुदान रकमबाट लागत व्यहोरिने उल्लेख छ । आयोजनाको अन्त्यमा कूल १ हजार ६६३ कि.मि.कालोपत्रे सडक र १२५ वटा पूलहरूको निर्माण हुने अनुमान छ ।

प्रतिक्रिया