सरकारले ल्याएको अध्यादेशको समर्थनमा विराटनगरमा थारु समुदायले निकाए जुलुस

Aadil Times 1+ समाचार ( )
२९ मंगशिर २०७९

मुलुकी अपराध संहिता संशोधनको उद्धेश्यसहित सरकारले ल्याएको अध्यादेशको समर्थनमा विराटनगरमा दबाबमुलक जुलुस निकालिएको छ । 

थारु कल्याणकारिणी सभा एवं थारुहट थारुवान संयुक्त संघर्ष समिति मोरङको आयोजनामा जुलुस निकालिएको हो । विराटनगर महानगरपालिकको वडानम्बर २ तिनपैनी चोकबाट निकालिएको जुलुसले मेनरोड बाट गोश्वारा रोड हुँदै जिल्ला प्रशासन कार्यालय सामुन्ने पुगेर कोणसभामा परिणत भएको थियो । 

जुलुसका सहभागिले ‘अध्यादेश स्वागत योग्य छ’, ‘कैलालीका जनताद्वारा अत्यधिक मतले निर्वाचित माननीय रेशम चौधरी जेलमैं सड्नुपर्ने ?’, तथा ‘थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष धनीराम चौधरी जिन्दाबाद’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । जिल्ला प्रशासन अघिल्लितिर भएको कोण सभामा बोल्ने वक्ताहरुले नागरीक उन्मुक्ती पार्टीका संरक्षक रेशम चौधरीलाई अविलम्ब रिहाई गर्नुपर्ने माग गरेका थिए । 

सो अवसरमा बोल्नुहुँदै थारु कल्याणकारिणी सभाका केन्द्रीय सल्लाहकार भक्तीनाथ माझीले सरकारले ल्याएको पछिल्लो अध्यादेश अविलम्ब पारित गरिनुपर्ने माग गर्नुभयो । सभाका केन्द्रीय उपाध्यक्ष कनुलाल चौधरीले थारु समुदायको अधिकारको आन्दोलनलाई दबाउन रेशम चौधरी लगायतलाई झुठा मुद्धा लगाएर जेल हालिएको दाबी गर्नुभयो ।  

सो बिषयलाई लिएर बिगतमा कयौं पटक सरकारसंग सम्झौता भएपनि त्यो पालना नभएको उहाँको भनाई थियो । सभाका मोरङ अध्यक्ष प्रदीप भगत थारुले अबपनि रेशम चौधरी सहितका जेलमा रहेका बन्दीलाई रिहाई नगरे थारु समुदायले आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिनुभयो । 

कार्यक्रममा रुक्मिता चौधरी केन्द्रीय पार्षद प्रदीपकुमार विश्वास लगायतले बोल्नुभयो । केहि दिन अघि सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधनगर्न अध्यादेश ल्याएपछि त्यसको पक्षमा थारु संघसंस्थाले देशका विभिन्न स्थानमा दबाब मुलक कार्यक्रमहरु गरि रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार