विराटनगरमा दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट हुने

Aadil Times 1+ समाचार ( )
२८ मंगशिर २०७९

दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट हुने भएको छ । 

प्याब्सन विराटनगरको अयोजनामा पुस १ देखि ८ गतेसम्म विराटनगरस्थित शहिद रंगशालामा प्याब्सन विराट फुटबल टुर्नामेन्ट हुने भएको हो । प्याब्सनले बुधबार पत्रकार सम्मेलनगरी प्रतियोगिताको तयारी सुरू गरिएको जानकारी गराएको छ । आठ दिनसम्म संचालन हुने प्रतियोगितामा प्याब्सनमा आवद्ध ३० वटा सदस्य विद्यालयहरूका खेलाडी विद्यार्थीहरूले प्रतियोगितामा भाग लिने कार्यक्रम संयोजक नन्दलाल मण्डलले जानकारी दिनुभयो । 

उक्त टुर्नामेन्टमा कक्षा १० सम्म अध्ययरत १७ वर्ष देखि मुनिका उमेर समूहका खेलाडी विद्यार्थीहरूले भाग लिनेछन । प्रतियोगिताको बिजेताले २ लाख ५० हजार मुल्य बरावरको रनिङ्ग शिल्ड सहित नगद २५ हजार रूपैयाँ प्राप्त गर्नेछन । उप बिजेतालाई नगद १५ हजार रुपैयाँ पुरस्कार रहेको छ । फुटबल खेलप्रति अभिरुची जगाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादनगर्ने उद्धेश्यसहित प्रतियोगिता आयोजनागर्न लागिएको संयोजक मण्डलले बताउनुभयो । 

प्रतियोगिता सम्पन्नगर्न ७ लाख ६१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिनुभयो । प्याब्सनको शान र गौरवको लागि प्याब्सन विराट कप भन्ने नारा साथ २०७६ सालदेखि प्याब्सन विराट कप गर्दै आएको प्याब्सन विराटनगरका उपाध्यक्ष अर्जुन श्रेष्ठले बताउनुभयो । २०७७ र २०७८ सालमा कोभिडको कारणले प्याब्सनले फुटबल प्रतियोगिता गर्न सकेको थिएन । 

पत्रकार सम्मेलन प्याब्सन मोरङका प्रमुख सल्लाहकार तथा पुर्व अध्यक्ष इन्द्र राई, मोरङ प्याब्सनका कोषाध्यक्ष बिष्णु डंगोल, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संजीव खनाल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन प्याब्सन विराटनगरका सचिब अशोक लामाले गर्नुभएको थियो ।


प्रतिक्रिया