सयौँ तिब्बतीयनलाई नेपाली नागरिकता बनाउने गिरोह पक्राउ

Aadil Times 1+ समाचार ( )
८ चैत्र २०७९

सयौँ तिब्बतीयन नागरिकलाई नेपाली नागरिकता बनाइदिएको आरोपसहित गिरोह पक्राउ परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाको केचनाकवलका ४७ वर्षीय कृष्णबहादुर कटवाल, काठमाडौंको बबरमहलका ७० वर्षीय न्युल्केस श्रेष्ठ, मोरङको सुन्दर हरैँचाका ४९ वर्षीय हिरालाल सिवाकोटी, तनहुँको तिब्बतीयन शिविरमा बस्ने २५ वर्षीय लोब्साङ ठिन्ले र ललितपुरको गोदावरीका ३० वर्षीय विजय लामा रहेका छन्।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीका अनुसार लेखापढीको काम गर्ने कटवालले हालसम्म ५ सयभन्दा बढीलाई त्यसरी नागरिकता दिलाएको बताएका छन्।

उनले न्युल्केस श्रेष्ठले मात्र बाबु बनेर कम्तीमा ५ जनालाई नागरिकता बनाइदिएको पाइएको छ। तीमध्ये ठिन्ले पनि एक हुन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विगत ९ वर्षेदेखि क्यान्टिन चलाउँदै आएका लामाले सरकारी कार्यालयभित्रको जिम्मा लिएको प्रहरीको दाबी छ।

प्रहरीका अनुसार एउटा नक्कली नागरिकता बनाउन ५ लाख रुपैयाँसम्म लिने गरिएको र नक्कली बाबुलाई १० हजार रुपैयाँसम्म दिने गरेको पाइएको छ।

यस्तै नागरिकता जारी गर्ने कार्यालयमा मिलाएबापत लामाले एक लाख देखि एक लाख ५० हजार रुपैयाँसम्म लिने गरेको एसएसपी केसीले बताए।

प्रहरीले काठमाडौं जिल्ला प्रशासन कार्यालयका पूर्व र बहालवाला कम्तीमा ४ जना कर्मचारीमाथि निगरानी राखेको छ।

‘बरामद कागजातअनुसार विशेष गरी तिब्बतीयनहरुलाई उनीहरूले नागरिकता बनाइदिने गरेको पाइएको छ’, एसएसपी केसीले भने।

प्रहरीका अनुसार नक्कली बाबु बनेका न्युल्केसको नाममा मिङछुङ शेर्पा नामको नक्कली नागरिकता पनि रहेको छ।

प्रहरीका अनुसार उक्त नागरिकताकै आधारमा नक्कली बाबु बनेर विभिन्न ५ जनालाई सक्कली नागरिकता जारी भएको छ।

प्रतिक्रिया