कटहरी गाउँपालिकामा कोच राजवंशी समुदायले सांस्कृतिक हुदुरधुरा जात्रा मनाए

Aadil Times 1+ समाचार ( )
१६ मंगशिर २०७९

मोरङका कोच राजवंशी समुदायले कटहरी गाउँपालिकामा सांस्कृतिक हुदुरधुरा जात्रा मनाएका छन ।

राजवंशी संस्कृति संरक्षण तथा विकास केन्द्रको आयोजना तथा राजवंशी समाज विकास समितिको सहयोगमा १५ औं हुदुरजात्रा मनाइएको हो । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी,उपाध्यक्ष सीता देवी राजवंशी,प्रदेश एकका पुर्व मन्त्री ज्ञानेश्वर राजवंशी र आयोजक समितिका सल्लाहकार भीमराज राजवंशी लगायतले शान्तिको प्रतिक परेवा उराएर जात्राको उद्घाटन गर्नुभयो । 

कटहरी ३ स्थित राजवंशी संस्कृति संरक्षण तथा विकास केन्द्रको केन्द्रीय कार्यालय परिसरबाट निकालिएको जात्राका सहभागिले झांकी र प्ले कार्डसहित गाउँपालिकाका विभिन्न क्षेत्रको परिक्रमा गरेका थिए । जात्राका सहभागिले ‘झापा,मोरङ,सुनसरी बनाऔं सुन्दर नगरी’ नारा लगाउँदै कटहरीका विभिन्न क्षेत्रको परिक्रमा गरेका थिए ।

यसअघि भएको औपचारिक कार्यक्रममा बोल्दै कटहरी गाउँपालिकाका अध्यक्ष चौधरीले कटहरीको भौतिक विकासका साथै सामुदायिक उन्नयनका बिषयहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । आयोजक संस्थाका सल्लाहकार भीमराज राजवंशीले राजवंशी समुदायसंग जोडिएको सांस्कृतिक र धार्मिक थानहरु कदमाहाको राजा धनपाल थान, डाइनियाको भेरुवाथान, दादरबैरियाको रणकाली थान, डांगिहाटको धनपाल गढी, बुधनगरको राजा विराटको दरबार लगायत क्षेत्रको विकास गर्नु जरुरी रहेको बताउनुभयो ।

ती क्षेत्रहरुको विकास गर्न सके झापा,मोरङ,सुनसरी क्षेत्रको पर्यटन प्रबर्धन हुने र त्यसले समुदायको आर्थिक र सामाजिक अवस्थामा समेत सुधार हुने उहाँले बताउनुभयो । कार्यक्रमका सहभागि अन्य वक्ताले झापाको किचकबध, बधा चौधरी थान, रंगीया थान र सुनसरीका विभिन्न ठाउँको विकासमा सरकारको ध्यान नगएको गुनासो गरेका थिए । 

जात्राको क्रममा सांस्कृतिक पहिरण प्रस्तुत गर्नुका साथै हास्यास्पद मुकुण्डो लगाएका कलाकार र परम्परागत बाद्यवादन समेत प्रस्तुत गर्ने गरिन्छ । केन्द्रले २०६५ सालयता प्रत्येकबर्ष मंसिर १५ गते सांस्कृतिक झांकी र ¥याली सहित हुदुरधुरा जात्राको आयोजना गर्दै आएको छ । बिगतको २ बर्ष कोरोना महामारीका कारण यो जात्रा स्थगन गरिएको थियो ।

प्रतिक्रिया