किसानलाई धन्यवाद दिन खेतमा पुगे राउत

Aadil Times 1+ समाचार ( )
८ मंगशिर २०७९

तराई मधेस आन्दोलनका चर्चित नेता उपेन्द्र यादवलाई पराजिय गरेर पहिलोपटक संघीय संसदमा आएका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत यतिखेर मतदातालाई धन्यवाद ज्ञापन गर्न व्यस्त छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका राउत यतिखेर जनतालाई धन्यवाद दिनका लागि किसानका खेततिर पुगिरहेका छन् । शान्ति प्रक्रियामा आएपछि मुख्यतःमलको विषयलाई लिएर सडक आन्दोलन गरेका राउतले जनताको खेतमा नै गएर धन्यवाद ज्ञापन गरेका हुन् ।

राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा पराजित यादव १६ हजार ९७९ मतमा सीमित भएका थिए । राउतको विजयसँगै चौथोपटक निर्वाचित हुने यादवको सपनामा धक्का लागेको छ ।

स्वतन्त्र मधेस गठबन्धनका नाममा तराई मधेसमा स्वतन्त्र मधेस अभियान चलाउँदै आएका राउत २०७५ साल फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएका हुन् । उनलाई देश विभाजन गर्न खोजेको आरोप लागे पनि अन्ततःतत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले शान्ति प्रक्रियामा ल्याएको थियो ।

शान्तिपूर्ण राजनीतिमा आएपछि जनमत पार्टीका रूपमा राजनीतिक दल गठन गरेर तराई मधेस केन्द्रीत आन्दोलन गरिरहेका राउतले पहिलोपटक स्थानीय तहको निर्वाचनमा भाग लिएका थिए । सप्तरी, धनुषा लगायतका स्थानीय तहमा उनको पार्टी विजय भएको थियो । गत स्थानीय तह निर्वाचनमा विजय हासिल गरेको जनमत पार्टी पहिलोपटक प्रतिनिधिसभामा प्रवेश गर्न लागेको हो ।

प्रतिक्रिया