मकर संक्रान्तिका कारण बजारमा उपभोक्ताको चहलपहल

Aadil Times 1+ समाचार ( )
२९ पौष २०७९

मकर संक्रान्ति नजिकिएसँगै बजारमा किनमेल गर्नेहरुको चहलपहल बढेको छ । विराटनगरस्थित गुद्री बजारमा मकर संक्रान्तिका लागि चाहिने सामग्री किनमेल गर्नेको चहलपहल देखिन्छ ।

तरुल, सक्खर, भुजा, चिउरा, तिल जस्ता सामग्री संक्रान्तिमा प्रयोग हुने गरेको छ । भुजा, चिउरा र तिलको लड्डु बिक्री गर्दै आएकी सुमित्रादेवी संक्रान्ति किनमेलले बजारमा चहलपहल बढेको बताउँछिन् ।

उनी तिलको एउटा लड्डु ५ रुपैयाँमा बेच्छिन् । तर मेहनत र सामानमा लगानी गरे अनुसार उल्लेख्य व्यापार नभएको उनको भनाई छ । विगतका वर्षको भन्दा मूल्य कम भएको र संक्रान्तिको चार दिन अगाडि देखि सामान राखे पनि सोचे जस्तो ग्राहक नआएको रेखादेवी साहले बताइन् ।

बजारमा सुठुनीको भाउ ८० प्रतिकिलो, घर तरुल ८०, सिमल तरुल ८०, इस्कुसको जरा १४०, बन तरुल २०० मा किनबेच भइरहेको उनले बताए । अर्का व्यापारी कमलेस साह गत वर्षको भन्दा यसपालि सामग्रीको मूल्य कम भएको बताउँछन् । व्यापारीहरुको संख्या वृद्धि भएको कारण ग्राहक कम भएको उनको भनाई छ ।

किनमेलमा व्यस्त भेटिएका उपभोक्ता रमेशकुमार बस्नेत भन्छन् ‘मकर संक्रान्तिको तयारी आवश्यक सामानहरु किनेर भइरहेको छ । पहिलेभन्दा अलि सस्तो पाइयो यसपालि ।’ माघ महिनाको पहिलो दिन मकर संक्रान्तिका रुपमा मनाउने चलन छ । माघ १ गते सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले मकर संक्रान्ति भन्ने गरिएको हो ।

यो दिनलाई माघे संक्रान्ति, तिलुवा संक्रान्ति अनि तराईका आदिवासीहरुले माघीका रुपमा पनि मनाउने गरेका छन् । माघे संक्रान्तिका दिनदेखि सूर्यको दिशा उत्तरायणतर्फ लाग्ने मान्यता छ । उत्तरउन्मुख सूर्यको दिशाका कारण न्यानो हुने र हिउँद अवधि छोटिँदै जाने हुन्छ ।

यो पर्वमा बिहानै नुहाईधुवाई गरेर, चोखो कपडा लगाई, व्राह्मणलाई दान दक्षिणा दिने चलन पनि छ । कतिपयले घरमारुद्री या सत्यनारायण भगवानको पूजा लगाउने पनि गर्छन् ।

सुनसरीको बराहक्षेत्र, झापाको कन्काइ माई किनारमा माघको पहिलो दिन मेला पनि लाग्ने गरेको छ । मेलामा नेपाल र भारतका विभिन्न स्थानबाट सहभागिता हुने गरेको छ ।

प्रतिक्रिया