मानव अधिकार सञ्जालद्वारा अधिकारकर्मी सम्मानित

Aadil Times 1+ समाचार ( )
२५ मंगशिर २०७९

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर मानव अधिकार सञ्जाल मोरङले दुई जना अधिकारकर्मीलाई  सम्मान गरेको छ ।

 ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर सञ्जालसहित विराटनगरका विभिन्न मानवअधिकारसँग सम्बन्धित संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा माइती नेपालका प्रदेश–१ संयोजक विनोद पोखरेल र जागरण नेपालकी प्रदेश प्रमुख प्रतीक्षा बस्नेतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पोखरेल र बस्नेतलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले अझै पनि विभिन्न खाले मानव अधिकार हननका घटना भइरहेको बताए । उनले मानवअधिकार हननका घटना हुन नदिन मानव अधिकारका क्षेत्रमा क्रियाशील संघसंस्थाहरुको सक्रियता आवश्यक रहेको औंल्याए । 

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरे, जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झा, मानव अधिकार आयोग प्रदेश प्रमुख पवन भट्ट, इन्सेक प्रदेश संयोजक सोमराज थापा, एवीसी नेपालकी अध्यक्ष विष्णु शर्मा पन्त, सिविनका प्रमुख वासु अधिकारीलगायतले मानव अधिकार उल्लंघनका घटना हुन नदिन सबै क्षेत्रको खबरदारी आवश्यक रहेकोमा जोड दिए ।

प्रतिक्रिया